
काठमाडौं ।
दक्षिण कोरियाली कम्पनी सामसङले आफ्नो आगामी ग्यालेक्सी अन्प्याक्ड इभेन्ट अगस्ट ३ मा आयोजना गर्ने बताएको छ।
उक्त इभेन्टमा कम्पनीले ग्यालेक्सी जेड फोल्ड३, ग्यालेक्सी जेड फ्लिप३, ग्यालेक्सी वाच४ तथा ग्यालेक्सी वाच एक्टिभ४ सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
यी डिभाइसहरु सार्वजनिक हुने क्रममै ग्यालेक्सी एस२१ एफई पनि सार्वजनिक हुने आकलन गरिएको छ।
हालै बाहिर आएको एक तथ्यका अनुसार गत वर्षको चर्चित ग्यालेक्सी एस२० एफई पछाडिको सिरिजमा आउन लागेको ग्यालेक्सी एस२१ एफई पहिले भनिएको समयबाट सार्वजनिक हुन ढिलाइमात्र नहुने बरु सार्वजनिक भइसकेपछि पनि दुई क्षेत्रमा मात्र उपलब्ध हुने बुझिएको छ।
केही दिनअघि ग्यालेक्सी एस२१ एफई तोकिएको समयभन्दा एक महिनामात्र ढिला हुने समाचार आएको थियो। उक्त ह्याण्डसेट अगस्टमा अन्य फोल्डेबल फोन तथा स्मार्टवाचका साथमा सार्वजनिक हुने बताइएको थियो।
तर आपूर्ति श्रृङ्खलामा आएको समस्याका कारण एक महिना ढिला गरेर सेप्टेम्बरसम्ममा सार्वजनिक हुने बताइएको थियो।
तर हालै फाइनान्सियल न्यूज नामक सञ्चारमाध्यममा आएको खबर अनुसार यो फोन स्न्याफड्रागन ८८८ चिपसेटका सात अगस्टमै ल्याउने योजना रहेको भए पनि अब भने यो ढिलाइ अक्टोबरसम्म लम्बिने भएको छ।
यसबाहेक यो अमेरिका र यूरोप गरी दुई क्षेत्रका बजारमा मात्र उपलब्ध हुनेछ। यो कम्पनीको गृह राष्ट्र दक्षिण कोरियामा समेत सार्वजनिक हुने छैन।
प्रकाशित: ११ असार २०७८, शुक्रबार