
काठमाडौं ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ एम योग एप ल्याउने घोषणा गरेका छन्। भारतीय सरकारले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँगको साझेदारीमा नयाँ एप घोषणा गरेको हो, जसमा विभिन्न भाषाहरूमा योग ट्यूटोरियलको भिडियोहरू राखिएका छन्।
यो एप हाल गुगल प्ले स्टोरमा उपलब्ध भएको तर कहिले आओएस एप स्टोरहरुमा लाइभ हुनेछ भन्ने जानकारी नभएको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले एम-योग एप ‘आधुनिक प्रविधि र पुरातन विज्ञानको फ्युजनको उत्कृष्ट उदाहरण’ हुने बताएका छन् । एम-योग एपले संसारभरि योग फैलाउन मद्दत गर्ने र ‘एक विश्व एक स्वास्थ्य’ प्रयासमा योगदान पुर्याउने उनले आशा गरे। ।
एम-योग एपमा सामान्य योग अभ्यासमा आधारित, विश्वका धेरै भाषाहरूमा योग प्रशिक्षणका भिडियोहरू राखिएका छन् । सो एप भारतको आयुश मन्त्रालयले विकास र डिजाइन गरेको बताईएको छ ।
भारतीय प्रधानमन्त्रीले महामारीको क्रममा योगको भूमिकामा पनि जोड दिए र योगको बारेमा उत्साह दस गुणा बढेकोमा खुशी व्यक्त गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
यसअघि पनि सन् २०१७ मा भारतीय सरकारले ‘सेलेब्रेटिङ्ग योग’ भन्ने एपको घोषणा गरेको थियो । सो एप योग उत्साहीहरू र तालिमलिनेहरू बिच कार्यक्रम सिर्जना गर्नका लागि जोडिन डिजाइन गरिएको थियो। यद्यपि, सेलेब्रेटिङ्ग योग एप अब गुगल प्ले स्टोरमा डाउनलोडको लागि उपलब्ध छैन।
प्रकाशित: ७ असार २०७८, सोमबार