
काठमाडौं ।
यो वर्षको पहिलो त्रैमासमा ट्याब्लेटको विश्वव्यापी बिक्री ३ करोड ५० लाख थान हाराहारीमा भएको छ।
यो आफैंमा २२.७ प्रतिशतले कम हो भने जनवरीमा डिजिटाइम्स रिसर्चले गरेको प्रक्षेपण अनुसारकै रहेको छ र बर्सेनिका हिसाबले हेर्दा अघिल्लो वर्षको तुलनामा ४५.५ प्रतिशत कम बिक्री हो।
आईसीको अभावका कारण ट्याब्लेट बजारमा निकै नकारात्मक असर परेको छ यसको प्रभाव अझै पनि देखिइरहेको छ। डिजिटाइम्सका अनुसार पहिलो त्रैमासमा ट्याब्लेटको विश्वव्यापी बिक्रीमा कमी आउनु यसको सिजन मन्द भएको र दोस्रो त्रैमासमा यसको बिक्री बढ्ला भन्ने सोचिए पनि ६.६ प्रतिशतले कमी आएको देखिएको छ।
पहिलो त्रैमासमा सर्वाधिक बिक्री हुने उत्कृष्ट ४ ब्रान्डमा एप्पल, सामसङ इलेक्ट्रोनिक्स, अमेजन तथा लेनोभो रहेका थिए।
सन् २०२० मा उत्कृष्ट ४ मा रहेको ह्वावे यो वर्षको पहिलो त्रैमासमा उक्त सूचीबाट हट्यो भने उसले दोस्रो त्रैमासबाट ट्याब्लेट बिक्री नै बन्द गर्नै घोषणा गरेको छ।
ह्वावेबाट छुट्टिएको अनरले पनि कुनै प्रगति देखाउन सकेको छैन भने यसलाई आफ्नो ब्राण्डको प्रवर्द्धन गर्न केही समय लाग्ने देखिएको छ।
यो वर्षको दोस्रो त्रैमासमा लेनोभो तेस्रो स्थानमा उक्लँदै अमेजनलाई चोथोमा पुर्याउने देखिएको छ भने माइक्रोसफ्ट सर्वाधिक ट्याब्लेट बिक्री गर्ने सूचीको पाँचो स्थानमा रहने आकलन गरिएको छ।
आईप्याड प्रो सार्वजनिक भएका कारण एप्पल दोस्रो नम्बरमै रहने देखिएको छ भने एप्पलबाहेकका कम्पनीले दोस्रो त्रैमासमा ट्याबलेट बिक्रीमा ओरालो झर्नुपर्नेछ।
पहिलो त्रैमासमा अमेजनको ८ इन्चको ट्याब्लेटले सर्वाधिक बिक्री भएकाले १० इन्चभन्दा माथिको साइज भएकाहरु ओरालो लागे। तर ११ इन्चको आईप्याड प्रो सिरिजले भने २० प्रतिशतको हाराहारीमा व्यापार बढाएर नया कीर्तिमान बनाउने देखिएको छ।
ताइवानको ओरिजिनल डिजाइन निर्माताहरुका ट्याब्लेटको बिक्री पनि २०२१ को पहिलो त्रैमासमा ओरालो लाग्यो। अघिल्ला जेनेरेशनका आईप्याड प्रो को अर्डर घटेकाले यस्तो भए पनि नयाँ आईप्याडका कारण दोस्रो त्रैमासमा उकालो लाग्न सक्ने आकलन गरिएको छ।
प्रकाशित: २२ बैशाख २०७८, बुधबार