
काठमाडौं ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकुन) ले अन्तरसहकारी विद्युतीय भुक्तानी कारोबार सुरु गरेको छ । सूचना प्रविधि दिवसको अवसरमा आइतबार अभौतिक कार्यक्रम गरी सेवाको सुरुआत गरिएको हो ।
नेफ्सकुनमा आबद्ध साकोसहरूको सहजताका लागि भुक्तानी सेवा सुरु गरिएको नेफ्सकुनका अध्यक्ष परितोष पौड्यालले जानकारी दिए।
नेफ्सकुनले यो सेवालाई ‘कनेक्ट साकोस’ को नाम दिएको छ ।
अध्यक्ष पौड्यालका अनुसार अन्तरसहकारी भुक्तानी कारोबारमा अब नेफ्सकुनका सदस्यद्वारा जारी भुक्तानी पुर्जा फरफारक तथा अन्तर साकोस सदस्यहरूबीच भुक्तानी सेवामा सहजता हुनेछ ।
नेफ्सकुनले क्लियरिङ हाउसको रुपमा काम गर्नेछ । जुन सहकारीमा सदस्य भएपनि नेटवर्कमार्फत् काम गर्न सकिने छ । सहकारीमै उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य भएको छ । यस सेवामार्फत सङ्घमा आवद्ध सबै संस्थाहरूको भुक्तानी पुर्जा सङ्घका कुनै पनि सदस्य संस्थामा गई सहटी गर्न सक्नेछन्।
मोबाइल बैङ्किङको उपयोग गरी संस्था–संस्था र सदस्यहरूबीचमा रकम स्थानान्तरण गर्न सकिने छ। संस्थाका सदस्यले संघमा आवद्ध कुनै पनि संस्थाबाट बचत जम्मा गर्न तथा फिर्ता लिने सुविधा हुनेछ ।
संस्थाका सदस्यहरूले नजिकको सदस्य संस्थाबाट बचत जम्मा गर्न, बचत फिर्ता लिन तथा मोबाइल बैङ्किङमार्फत बचत जम्मा गर्ने, भुक्तानी दिने, रकमान्तर गर्ने लगायतका सुविधा घरमै बसेर प्राप्त गर्न सक्ने पौड्यालले बताए ।
यसले दोहोरो सदस्यता अन्त्यका लागि सहयोगी भूमिका खेल्न पनि बताइएको छ । पहिलो चरणमा नेफ्सकुनमा सदस्य भएका नेपाल भरका सहकारीहरू सहभागी हुनेछन् ।
आगामी दिनमा इआरपी प्रणालीमा जाने तयारी भइहेको पौड्यालले जानकारी दिए । गोरखापत्रबाट
प्रकाशित: २० बैशाख २०७८, सोमबार