
काठमाडौं ।
बैंक तथा वित्तीय संस्थाहरुले अबदेखि आफ्नो ठेगानमा गुगल प्लस कोड प्रयोग गर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै सबै बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो ठेगानामा अनिवार्य गुगल प्लस कोड राख्न भनेको हो ।
नयाँ निर्देशन जारी भएसँगै अब बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो तथा आफ्ना सेवाग्राहीहरुको लागि गुगल प्लस कोड समेत राखेर ठेगाना अपडेट गर्नुपर्ने भएको छ।
गोस्वारा हुलाक कार्यालयले सबै निकायहरुलाई गुगल प्लस कोड आफ्नो ठेगानामा प्रयोग गर्न भन्दै आएको छ । यसको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको हुलाक सेवा विभागले हालैमात्र हुलाक वस्तु वितरणका लागि गुगल प्लस कोड सम्बन्धी कार्य सञ्चालय प्रकृया समेत जारी गरिसकेको छ ।
सोहीअनुसार गोस्वारा हुलाक कार्यालयले बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंक माफर्त गुगल प्लस कोड प्रयोग गर्न अनुरोध गरेको हो।
गोस्वारा हुलाकले सर्वसाधारणलाई समेत आफ्ना चिठीपत्रहरु समयमा नै र सुरक्षितरुपमा उपलब्ध गराउनका लागि गुगल प्लस कोड प्रयोग गरेर पत्राचार तथा ठेगाना प्रयोग गर्न भन्दै आएको छ ।
प्रकाशित: १४ बैशाख २०७८, मंगलवार