Technology Khabar १ बैशाख २०७८, बुधबार
काठमाडौं ।
जापनी मल्टिनेशनल कम्पनी क्याननले हालै आफ्नो अति उच्चस्तरको (हाइएस्ट इन्ड) मिररलेस क्यामरा ईओएस आर३ को घोषणा गरेको छ।
जापानकै अर्को अप्टिक्स एन्ड इमेजिङ मल्टिनेशनल कम्पनी निकोनले कम्पनीले गत महिना नाम र मोडल नतोकिकन यस्तै प्रकारको मिररलेस क्यामरा ल्याउने घोषणा गरेको थियो।
आर३ हाल विकासकै क्रममा रहेको र यसका विवरणहरु खासै बाहिर आइनसके पनि यो क्याननको अहिलेको फ्ल्यागशिप क्यामरा ईओएस आर५ भन्दा उच्च गुणस्तरको हुने आकलन गर्न सकिन्छ।
निकोनका आउँदै गरेको जेड९ जस्तै ईओएस आर३ पनि अलिक गह्रुंगो क्यामरा हुनेछ भने यसमा पोर्ट्रेट र भर्टिकल फोटो शूटका लागि भर्टिकल ग्रिप दिइएको छ।
यसको बडीको डिजाइन र लेआउट भने लगभग क्याननको हाइएस्ट-इन्ड प्रोफेसलन डीएसएलआर क्यामरा ईओएस-१डी मार्क३ को जस्तै देखिन्छ भने यो धूलो र पानीले असर नपार्ने खालको (डस्ट एन्ड वाटरप्रूफ) रहेको छ।
क्याननले ईओएस आर३ पछाडिबाट प्रकाशित (ब्याकसाइड इलुमिनेटेड) ३५ एमएम फुल फ्रेम सीमोस सेन्सरसहित आउने कम्पनीको पहिलो क्यामरा भएको दावी गरेको छ। यसबाहेक यसमा रहेको इमेज प्रोसेसर र इलेक्ट्रोनिक शटरका कारण एएफ र एई (अटो फोकस र अटो एक्सपोजर) ट्र्याकिङसहित ३० फ्रेम प्रतिसेकेन्डको भिडियो खिच्न सहज बनाउने बुझिएको छ।
क्याननले ईओएस आर३ मा अटो फोकसको सुविधा पनि दिएको छ। यो क्यानन कम्पनीको आँखाले कन्ट्रोल गर्न मिल्ने अटो फोकससहितको पहिलो क्यामरा भएको बुझिएको छ। स्पोर्ट्स मोडमा फोटोग्राफी गर्दा स्पस्टताका लागि यसमा मान्छेको आकृति बुझ्नसक्ने ‘डीप लर्निङ अल्गोरिदम’ प्रयोग गरिएको कम्पनीले जनाएको छ।
प्रकाशित: १ बैशाख २०७८, बुधबार