एनआईसी एशिया बैंकले शुरु गर्यो कर्पोरेट–पे प्रणाली

  • Technology Khabar | ३० मंसिर २०७७, मंगलवार
एनआईसी एशिया बैंकले शुरु गर्यो कर्पोरेट–पे प्रणाली

काठमाडौं ।

एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ ।

यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

बैंकले आफ्ना सम्पूर्ण संस्थागत ग्राहकहरूलाई प्रदान गर्ने उक्त डिजिटल प्रणालीमार्फत संस्थागत ग्राहक महानुभावहरूले बैंकमा उपस्थित नभई रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सक्नुहुनेछ । उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस वा एनसीएचएल आईपीएस भुक्तानी कारोबारहरू गर्न सकिने सुविधा रहेको छ ।

यस ‘कर्पोरेट–पे’ प्रणाली सुरुवात गर्नका लागि ग्राहकहरूले बैंकबाट आवश्यक प्रकृया पूरा गरी आवेदन दिन सक्नुहुनेछ । यस प्रणाली सुरुवात गरेपश्चात् प्रयोगकर्ताहरू आफैले तोकिएको कारोबार सीमा भित्र कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्नुहुनेछ ।

यस प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टि लेयर अथेन्टिकेशनको व्यवस्था गरिएको छ भने कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरूले मात्र पाउने सुरक्षित बाटोको व्यवस्था गरिएको छ ।

साथै ग्राहक महानुभावहरूले आवश्यकता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरू समेत आबद्ध गरी कारोबार गर्न सकिने सुविधा रहेको छ । यस प्रणालीको प्रयोगले बैंकको शाखामा नपुगी विभिन्न भुक्तानीहरू अनलाईनबाट नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरूलाई अझ सहज हुनेछ ।

प्रकाशित: ३० मंसिर २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार