साईबर ब्यूरोले भन्यो- अमर्यादित भिडियोहरु टिकटकलगायत सामाजिक सञ्जालमा नराख्नुस्

  • Technology Khabar | १७ मंसिर २०७७, बुधबार
साईबर ब्यूरोले भन्यो- अमर्यादित भिडियोहरु टिकटकलगायत सामाजिक सञ्जालमा नराख्नुस्

काठमाडौं ।

नेपाल प्रहरीको साईबर ब्यूरोले टिकटकमा लैङ्गिकता, फरक क्षमता, महिला तथा बाल अधिकार लगायतका संवेदनशिल विषयको ख्यालै नगरी कानून उलंघन गर्दै भिडियो बनाउनेलाई कारबाही गर्ने भएको छ।

साईबर ब्यूरोले संवेदनशिल विषयमा ख्यालै नगरी महिला तथा बालबालिकाको प्रचलित कानून विपरितका भिडियोहरु बनाएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ।

फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतमा यस्ता भिडियो बनाउने र प्रसारण गर्ने गरेको सम्बन्धमा ब्यूरोको ध्यानाकर्षण भएको जनाएको छ। त्यसका आधारमा कतिपयलाई कारबाही समेत भइसकेको ब्यूरोले उल्लेख गरेको छ ।

ब्यूरोले सामाजिक सञ्जालहरुमा अशोभनीय, अमर्यादित, दुराचारयुक्त, यौनजन्य तथा अश्लील तस्वीर, श्रव्यदृष्य, वार्तालाप, लेखन लगायतका सामग्री प्रकाशन, प्रसारण गर्नु विद्युतीय कारोबार ऐन, २०६३ लगायतका प्रचलित कानूनहरु विपरीत भएको जनाएको छ ।

त्यस्तो भिडियोहरु शेयर गर्दा पिडितलाई थप पिडा हुनेहुँदा त्यस्तो कार्य नगर्नका लागि समेत साईबर ब्यूरोले सबैसँग अनुरोध गरेको छ ।

यसका साथै कसैले त्यस्ता कार्य भए गरेको पाइएमा नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरोको टेलिफोन नं. ०१–४२१९०४४, ४२१९०४८, मोबाइल नं. ९८८१२८६७७० वा ईमेल ठेगाना [email protected] मा सूचना दिन आग्रह गरेको छ ।

प्रकाशित: १७ मंसिर २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...