
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले इन्टरनेट सेवा प्रवाहमा रहेका समस्या समाधानका लागि तत्काल पहल थाल्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।
सरकारका प्रवक्ता गुरुङले सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रको सोमबार अनुगमन गर्ने क्रममा सेवाग्राहीहरूको गुनासो तत्काल सम्बोधन हुनेगरी इन्टरनेट सेवालाई व्यवस्थित गर्न निर्देशन दिएका हुन् ।
उनले भने, “इन्टरनेट सेवाका सम्बन्धमा सेवाग्राहीको गुनासो छ । सेवाग्राहीको गुनासो तत्काल सम्बोधन गरिनुपर्छ ।”
उनले सूचना प्रविधि सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोडदिँदै हरेक विद्यालय तहमा इन्टरनेट सेवाको विस्तार गर्ने निर्णय कार्यान्वयनमा तीब्रता दिनुपर्ने बताए ।
उनले सूचना प्रविधिको विकासमा १० वर्षे कार्य योजना बनाएर अघि बढन राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई आग्रह गरे।
सूचना प्रविधिको विकासका लागि आवश्यक कार्यविधि, निर्देशिका, ऐन, नियमको आवश्यक व्यवस्था मिलाउन आफू तयार रहेको स्पष्ट पारे । उनले निजी क्षेत्रसँगको प्रतिस्पर्धामा अबल हुने गरी थप सेवा विस्तारको कामलाई अघि बढाउन ढिलाई गर्न नहुने समेत चर्चा गरे ।
यस्तै, मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सूचना प्रविधिको विकास द्रूतगतिका साथ हुने गरी काम गर्न केन्द्रका कर्मचारीहरुलाई आग्रह गरे।
सो अवसरमा केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्री गुरुङलाई जानकारी गराएका थिए । आजको गोरखापत्र
प्रकाशित: २५ कार्तिक २०७७, मंगलवार