ताजा समाचार

सुरक्षाका लागि लुम्बिनी क्षेत्रमा दुईसय सीसी क्यामरा जडान

सुरक्षाका लागि लुम्बिनी क्षेत्रमा दुईसय सीसी क्यामरा जडान
Global IME Bank

बुद्ध जन्मस्थल लुम्बिनीमा रहेका महत्वपूर्ण क्षेत्रको सुरक्षार्थ सीसी क्यामरा जडान गरिएको छ। पवित्र उद्यान, बिहार क्षेत्र र लुम्बिनीग्रामका विभिन्न ठाउँको सुरक्षा गर्न भन्दै सीसी क्यामेरा र पीटीजेड क्यामरा जडान गरिएको हो । लुम्बिनी विकास कोषका अनुसार लुम्बिनी उद्यानमा १७५ वटा सीसी क्यामेरा र २५ वटा पीटीजेड क्यामरा जडान गरिएको छ ।

पीटीजेड क्यामराले टाढाको बस्तु फोकस र जुम गरेर नजिक हेर्न मिल्छ । यसअघि नै अति संवेदनशील ठाउँमा सीसी क्यामरा जडान गरिएको भए पनि सबै महत्वपूर्ण स्थानमा भने क्यामेरा थिएन ।

अहिले एकै ठाउँबाट नियन्त्रण हुने गरी क्यामरा जोडिएको हो । फाइबर र वायरलेस माध्यमबाट सीसी क्यामरा जडान गरी अब चौबिसै घण्टा लुम्बिनी क्षेत्रको निगरानी गरिने छ । लुम्बिनी विकास कोषका सूचना प्रविधि इन्जिनियर दिवाकर गौतमले लुम्बिनी उद्यानभित्रको सुरक्षा अब प्रविधिमैत्री भएको बताए।

सबै सीसी क्यामराको कन्ट्रोल विकास कोषमा राखिएको आइटी रुमले गरिरहेको हुन्छ । कन्ट्रोल रुममा नेपाल प्रहरी र लुम्बिनी विकास कोषका सुरक्षाकर्मीहरुले क्यामरा मार्फत मोनिटरमा लुम्बिनी क्षेत्रको गतिविधि नियाल्छन् ।

“हामीले लुम्बिनीका हरेक गतिविधि नियाल्छौं । कहाँ के हुन्छ, भए गरेका गतिविधि रेकर्ड गरेर राख्छौं । कुनै घटना घट्यो वा जोखिम क्षेत्र भएजस्तो लाग्यो भने तुरुन्तै सुरक्षाकर्मी परिचालनमा हुन्छ”–गौतमले भने।

लुम्बिनीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, पर्यटक प्रहरी, लुम्बिनी विकास कोषका सुरक्षा कर्मचारी र वीर गोर्खा सेक्युरिटी कम्पनीको सुरक्षाकर्मी सुरक्षामा खटिएका छन् । त्यस्तै, लुम्बिनीकै सुरक्षालाई प्राथमिकता दिएर सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकको कमान्डमा सशस्त्र प्रहरीको गुल्म लुम्बिनीमा छ ।

लुम्बिनीमा यति धेरै सुरक्षाकर्मी हुँदा समेत आपसी समन्वय नहुँदा बेलाबखत समस्या आउने गरेको छ । योजना प्रमुख सरोज भट्टराईले लुम्बिनी पूर्णतया डिजिटल सुरक्षा प्रणालीभित्र भएको बताउँदै सुरक्षाकर्मी पनि उत्तिकै आवश्यक रहेको बताए ।

“हामी हरेक सेकेन्डका गतिविधिको निगरानी गर्नेगरी सुरक्षा व्यवस्था मजबुत गराएका छौंं । निगरानीमा रहेको सुरक्षालाई थप मजबुत पार्नुपर्ने हुन्छ”–राईले भने ।

प्रोक्योरमेन्ट अफ ट्रान्समिसन ब्याकबोन एण्ड आईटी इन्फ्राक्स्टक्चर परियोजना अन्तर्गत सीसी क्यामरा जडान भएको हो । कन्ट्रोल रूममा १२ वटा टिभी स्क्रिन छन् । ती स्क्रिनमार्फत् लुम्बिनी क्षेत्रको निगरानी गरिएको हो ।

आर्थिक वर्ष ०७४÷०७५ मा सीसी क्यामेरा जडानको काम सुरु भएको थियो । तीन वर्ष लगाएर वेभ–म्याक्स जेभिले क्यामेरा जडानको काम सम्पन्न गरेको हो । परियोजना अन्तर्गत अप्टिकल फाईभर बिछ्याउने, सर्वलियन प्रणाली, डाटा सेन्टर स्थापना, वायरलेस नेटवर्ट, सोलार ब्याकअप, डिजिटल साईनबोर्ड छन् । आजको गोरखापत्रबाट

Sajilo Visa
easy care