Technology Khabar १३ जेष्ठ २०७७, मंगलवार
काठमाडौं ।
लिपुलेकसहितको नक्सा नेपालले सार्वजनिक गरेसँगै भारतीय ह्याकरहरुले शुरु गरेको ह्याकिङ्गको घट्ना अब नेपाली कलाकारहरुसम्म पुगेको छ ।
पछिल्लो दिनमा नेपाली ह्याकरहरुले पनि भारतका केहि वेबसाइटहरु ह्याक गरिदिएसँगै दुबै पक्षबिच ह्याकिङ्ग युद्धको अवस्था आएको छ । जसमा केहि दिनअघि मात्रै भारतीय ह्याकरले नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारीक बेबसाइट ह्याक गरेका थिए ।
नेपाल र भारतका ह्याकरहरुको जुहारी बिच नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक
तर अब भने भारतीय ह्याकरहरुले नेपाली नायिकाहरुलाई धम्की दिँदै उनीहरुको अश्लिल भिडियो सार्वजनिक गरिदिने चेतावनी दिएका छन् ।

यहि बेलामा भारतीय ह्याकरहरुले नेपाली चलचित्र कलाकार आँचल शर्माको डिप फेक प्रविधि दूरुपयोग गरेर तयार पारिएको नक्कली अश्लिल भिडियो बनाएर सार्वजनिक गरेको दाबी गरेका छन् ।
सो भिडियोलाई सक्कली जस्तै देखाउने प्रयास गरिएपनि त्यसमा डिपफेक प्रविधि प्रयोग गरिएको स्पष्ट देख्न सकिन्छ ।
यसलाई नेपाली एक ह्याकरले समेत ट्विटरबाट प्रस्ट पारेका छन् ।

आँचल शर्मा मात्र नभई नेपाली कलाकारहरु नम्रता श्रेष्ठ र साम्राज्ञी राज्यलक्ष्मी शाहको अनुहार राखेर डिप फेक प्रविधिमार्फत तयार पारिएको भिडियो बनाएको हामीले पत्ता लगाएका भिडियोहरु हेर्दा देखिन्छ ।
जसमा नम्रता र आँचल शर्माको भिडियो ८ महिना अगाडि नै तयार पारेर अपलोड गरिएको छ भने साम्राज्ञीको नाममा २ साता अगाडि मात्र भिडियो अपलोड गरिएको छ ।
भारतीय ह्याकरहरुको चेतावनीसँगै नेपाली कलाकारहरु भने चिन्तामा रहेको देखिन्छ ।
कलाकार आँचल शर्माले देशको बारेमा बोल्दा नेपाली चेलीले धम्की सहनुपर्ने भनेर आफ्नो फेसबुकमा लेखेकी छिन् । उनले अश्लिल भिडियो बनाएर मानसिक यातना दिने र चरित्र हत्या गर्नेका विरुद्धमा एक भएर लाग्नुपर्ने बताएकी छिन् ।

के हो डिप फेक प्रविधि ?
विभिन्न चर्चित मानिसहरुको भिडियोहरु बनाएर सामाजिक संजालमा हाल्ने वा चरित्र हत्या गर्ने उद्धेश्यले यस्तो डिप फेक भिडियोहरु बनाउने गरिन्छ ।
हेर्दा दूरुस्तै देखिने भएपनि त्यो उच्च प्रविधिमार्फत कम्प्यूटरमा तयार पारिएको हुन्छ । त्यस्ता भिडियोहरु तपाईँले चिनेका वा हेर्दै आएका भिडियो जस्तै हुन्छन तर ती सबै नक्कली हुन्छन् ।
पछिल्ला दिनमा नयाँ प्रविधिहरुको आविश्कार र प्रयोगले गर्दा यस्ता भिडियोहरु बनाईने गरेको छ ।
मेसिन लर्निङ्ग र आर्टिफिसियल इन्टेलिजेन्स(एआई)को संयोजनमा डिपफेक प्रविधिको विकास भएको हो । यसले सक्कली र वास्तविक तथा नक्कली कन्टेन्टको बीचको फरक छुट्याउन समस्या बनाईदिएको छ ।
यो प्रविधिले भिडियोका अनुहारमा जुनसुकै सेलेब्रेटी वा अन्य मानिसको अनुहारलाई दूरुस्तै मिलाई दिन्छ ।
त्यसैगरि डिपफेक प्रविधिमार्फत प्रयोगकर्ताले आफूले चाहेको मानिसको जस्तै आवाज बनाएर जुनसुकै बोल्ने गराउन सक्दछ ।
तर यसको दूरुपयोग गरेर विश्वभर चर्चित व्यक्तिहरु र कलाकारहरुको अश्लिल भिडियोहरु तयार पार्न थालेपछि यसको बारेमा चर्को आवाज उठिरहेको छ । डिपफेक प्रविधिको दूरुपयोग गरेर मार्क जूकरबर्ग र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समेत डिपफेक भिडियो बनाईसकेका छन् ।

अहिले पनि यहि प्रविधिको दूरुपयोग गरेर नेपाली कलाकारहरुको अश्लिल भिडियो सार्वजनिक गरिएको हो । जसमा अन्य कलाकारहरुको नक्कली तस्वीर समेत राखिएको छ ।
*हेडलाइन सम्पादित
यो पनि हेर्नुस्-
आईफोन ह्याक गर्ने ‘जेलब्रेक टूल’ बनाए ह्याकरले, नयाँ आईओएस १३.५ पनि ह्याक गर्नसक्ने
प्रकाशित: १३ जेष्ठ २०७७, मंगलवार