Technology Khabar १० जेष्ठ २०७७, शनिबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले लकडाउन सकिएको ६ महिनाभित्र देशभर डिजिटल पूर्वाधारको काम सकिने बताएका छन् ।
उनले हाम्रा डिजिटल नीतिहरु राम्रो भएपनि त्यसलाई लागू गर्ने बारेमा भने सरकारी निकायहरुबिच सहकार्यमा कमजोरी रहेको बताएका हुन् ।
उनले अप्टिकल फाइबर ब्रोडब्याण्ड र मोबाइल ब्रोडब्याण्ड दुबैलाई देशभर बिस्तार गर्ने लक्ष्यअनुसार यो वर्षभित्र देशभर फोरजी पूर्णरुपमा पुग्ने बताएका छन् । उनले नेपाल टेलिकमको जस्तै एनसेलले पनि देशभर फोरजी बिस्तार गर्नुपर्नेगरि स्पेक्ट्रम दिईएको बताएका थिए ।
अध्यक्ष खनालले डिजिटल एजेण्डमा नीतिगत वातावरण विषयक भर्चुअल छलफलमा लकडाउन सकिएको ६ महिनाभित्र पूर्वाधारको हिसाबले सम्पन्न हुने दाबी गरे ।
पूर्वाधार र नीति राम्रो भएपनि सरकारी निकायबिच सहकार्यको अभाव भएको उनले बताए ।
‘इन्फ्रास्ट्रक्चर हिसावले कोभिड-१९ सकिएको ६ महिनाभित्र नेशनवाइड इक्यूप्ड हुन्छौं, पोलिसीहरु धेरै राम्रो बन्छन्, इम्प्लिमेन्टेशनमा हामी धेरै वीक छौं, र यो सरकारी निकायबिच विस नै होस भन्ने चाहन्छौं, विस होईन् कोअर्डिनेसन म्याडेटरी हुनेतर्फ जानुपर्दछ,’ अध्यक्ष खनालले भने ।
अध्यक्ष खनालले ७० प्रतिशत भन्दा बढि स्थानीय निकायहरुमा पूर्वाधार पुगिसकेको बताए ।
कार्यक्रममा पूर्व सहसचिव विरेन्द्र मिश्रले सरकारले संविधानको आधारमा नै डिजिटल नेपालको बिस्तृत फ्रेमवर्क तयार पारेको जानकारी दिँदै त्यसमा संघिय, प्रदेश र स्थानीय निकायहरुको गतिबिधिलाई व्याख्या गरिएको जानकारी दिएका थिए ।
कार्यक्रममा सूचना प्रविधि विज्ञ विवेक राणा, क्यानका पुर्व उपाध्यक्ष सुनैना घिमिरे, सूचना प्रविधि विज्ञ मनोहर भट्टराई, क्यानका पूर्व अध्यक्ष विप्लवमान सिंहले न्यून वर्गमा जाने गरि डिजिटल पूर्वाधार तयार गरिनुपर्ने, व्यापकरुपमा सूचना प्रविधिको प्रयोग नभएको र एकीकृत पूर्वाधार नभएको लगायतका विषयहरुमा ध्यान दिनुपर्ने बताएका थिए ।
प्रकाशित: १० जेष्ठ २०७७, शनिबार