काठमाडौं ।
छिमेकी मुलुक भारतमा मोबाइल फोनको मूल्य आजदेखि वृद्धि भएको छ । विश्वको दोस्रो ठुलो स्मार्टफोन बजार भारतमा सरकारले केहि समयअघि करको दरमा वृद्धि गरेपछि मोबाइल फोनको मूल्यमा पनि वृद्धि भएको हो ।
भारतमा शाओमी, एप्पल, ओपोलगायतका कम्पनीहरुले आफ्नो डिभाइसहरुको नयाँ बढेको मूल्यदर घोषणा गरिसकेका छन् ।
भारतीय सरकारले मोबाइल फोनमा १२ प्रतिशतबाट एकैपटक १८ प्रतिशत जीएसटी लागू गरेको थियो ।
शाओमीले आफ्ना सबै ब्राण्डहरु शाओमी, पोको र रेडमीका फोनहरुको मूल्य बढाएको छ । त्यसैगरि ओपो र एप्पलले पनि सबै फोनहरुमा मूल्य बढाएको छ । शाओमीले आफूहरु ५ प्रतिशत भन्दा पनि कम नाफाको मार्जिनमा काम गरिरहेको हुँदा मूल्य बढाउनुको विकल्प नभएको बताएको छ ।
एप्पलले पनि आइफोनको मूल्य बढाएको छ जसले गर्दा पुरानो मूल्यमा ५ प्रतिशत मूल्यवृद्धि भएको छ ।
यदपि कम्पनीहरुले अहिले मूल्य वृद्धि गरेको घोषणा गरेपनि ग्राहकहरुले भने त्यसको मार अहिले भोग्नुपर्दैन् । किनकी भारतमा कोरोनाभाइरसको महामारीका कारण आगामी अप्रिल १४ तारिखसम्म लकडाउन गरिएको छ ।एजेन्सी
प्रकाशित: १९ चैत्र २०७६, बुधबार