आरटीजीएस कारोबारमा शुल्क नलाग्ने व्यवस्था, विद्युतिय कारोबार गर्न राष्ट्र बैंकको आग्रह

  • Technology Khabar | ९ चैत्र २०७६, आईतवार
आरटीजीएस कारोबारमा शुल्क नलाग्ने व्यवस्था, विद्युतिय कारोबार गर्न राष्ट्र बैंकको आग्रह
फाइल

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आइतबारदेखि आरटीजीएस कारोबारमा समेत शुल्क नलाग्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतबार एक सूचना जारी गर्दै रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) सेवा निशुल्क गरिएको जानकारी दिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण न्यूनिकरण गर्ने उद्देश्यले आरटीजीएस सेवा शुल्क अर्को सूचना प्रकाशित नभएसम्म निःशुल्क गर्ने व्यवस्था गरेको विभागका कामु निर्देशक शुभाष चन्द्र घिमिरेले जानकारी दिएका छन्।

बैंक खाताबाट ठूलो परिमाणमा रकम झिक्नुपर्दा चेक काट्नु पर्ने र बैंकसम्म पुग्नुपर्ने बाध्यता हटाउने गरि राष्ट्र बैंकले आरटीजीएस सेवा सुरु गरेको थियो । सो सेवा लिनका लागि केहि शुल्क तोकिएको थियो ।

केहि समय अघि राष्ट्र बैंकले २ लाख रुपैयाँ भन्दा माथिको कारोबारमा आरटीजीएस सुविधा दिन सुरु गरेको हो।

यसैगरी केन्द्रीय बैंकले नगद कारोबारको साटो विद्युतिय कारोबार गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले सबैजनालाई छिटो, छरितो र सुरक्षित हुनका लागि सकेसम्म विद्युतीय कारोबार गर्न आग्रह गरेको हो ।

बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदान गर्ने संस्थाहरुले समेत विद्युतीय भुक्तानीको कारोबारमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको भन्दै सो नगद कारोबारको सट्टा विद्युतीय कारोबार गर्न राष्ट्र बैंकले भनेको छ ।

 

 

 

प्रकाशित: ९ चैत्र २०७६, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार