
काठमाडौं ।
चीनको वुहान सहरबाट सुरु भएको कोरोनाभाइरसले हाल विश्वमा नै ठुलो तनाव उत्पन्न गराएको छ । चीनबाट सुरु भएको यो भाइरस हाल विश्वका धेरै देशहरुमा फैलिसकेको छ । यस भाइरसले हालसम्म विश्वका ४,५०० मानिसहरुको ज्यान लिईसकेको छ भने १,२५,००० मानिसहरुमा यस भाइरसको संक्रमण रहेको छ ।
यस भाइरसको प्रभाव चीन पछि सबैभन्दा धेरै हाल इटालीमा देखिएको छ । इटालीमा यस भाइरसबाट हालसम्म १२,००० भन्दा धेरै मानिसहरु संक्रमित भईसकेका छन भने यसैबाट ज्यान गुमाउनेको संख्या हालसम्म ८०० माथी पुगेको छ । इटालीमा फैलिएको यसै भाइरसको कारणले अमेरिकी टेक कम्पनी एप्पलले हालै इटालीमा रहेको आफ्नो सबै रिटेल स्टोरहरु बन्द गर्ने निर्णय लिएको छ ।
एप्पलले इटालीमा रहेको आफ्नो अफलाइन स्टोरहरु बन्द गर्ने निर्णय गरेपनि कम्पनीले ग्राहकहरुलाई अनलाईन र टेलिफोनको माध्यमबाट आफ्नो उत्पादन उपलब्ध गराउने छ । कोरोना हाल इटालीबाट यूरोपका अन्य देशहरुमा पनि फैलँदो क्रममा रहेको छ । विश्व स्वास्थ्य संगठनले भर्खरै मात्र कोरोनालाई महामारीको संज्ञा दिएको छ ।
एप्पलले बुधवार एक विज्ञप्ति निकाल्दै कोभिड–१९ को फैलँदो क्रमलाई नियन्त्रण र व्यवस्थापन गर्नको लागी सहयोग गर्ने क्रममा कम्पनीले यस्तो निर्णय गरेको बताइएको छ । त्यस्तै कम्पनीको प्राथमिकता कम्पनीले सेवा प्रदान गर्ने समुदायका सबैको स्वास्थ्य र सुरक्षा रहेको पनि उल्लेख गरिएको छ ।
एप्पलले कुनै देशको सबै रिटेल स्टोर कोरोनाको कारणले बन्द गरेको इटाली दोस्रो मुलुक हो । यसअघि कम्पनीले चीनको सबै रिटेल स्टोरहरु बन्द गरेको थियो । एजेन्सी
प्रकाशित: २९ फाल्गुन २०७६, बिहीबार