संखुवासभाको भोटखोला गाउँपालिकामा इन्टरनेट सेवा शुरु, भिस्याट प्रविधिमार्फत सेवा उपलब्ध

  • Technology Khabar | १० पुष २०७६, बिहीबार
संखुवासभाको भोटखोला गाउँपालिकामा इन्टरनेट सेवा शुरु, भिस्याट प्रविधिमार्फत सेवा उपलब्ध

काठमाडौं ।

संखुवासभा । संखुवासभाको जिल्लाको दुर्गम भोटखोला गाउँपालिकामा इन्टरनेट सेवा शुरु भएको छ । दुर्गम भोटखोला क्षेत्रमा नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा मर्कन्टायल कम्युनिकेसन प्रालिले भिस्याट प्रविधिमार्फत सञ्जाल विस्तार गरेपछि इन्टरनेट सेवा सुचारु भएको हो ।

भिस्याट प्रविधिमार्फत इन्टरनेट सुचारु भएको मर्कन्टायलका जिल्ला प्रतिनिधि सुगन श्रेष्ठले जानकारी दिए । संखुवासभा जिल्लाका १९३ स्थानमा फाइबर, वायरलेस तथा भिस्याट प्रविधिमार्फत इन्टरनेट जडान गर्ने कार्य धमाधम भइरहेको प्रतिनिधि श्रेष्ठले बताए ।

सूचना र सञ्चार प्रविधिको पहुँचबाट टाढा भएका भोटखोलाबासीले इन्टरनेट सेवा पाएपछि खुसी ब्यक्त गरेका छन् ।

भोटखोलामा पहिलो पटक इन्टरनेट सेवा सुचारु भएपछि स्थानीय बासिन्दालाई समेत सूचना आदान–प्रदानमा सहजता भएको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले बताए ।

दुर्गम भोटखोलामा पुस १ गतेबाट इन्टरनेट सुचारु भएको हो । भोटखोलामा इन्टरनेट सेवा सञ्चालन नहुँदा भोटखोलाले बैंकिङ सेवा र अन्य सूचनाका लागि सदरमुकाम खाँदबारीमा अस्थायी कार्यालय स्थापना गरेको थियो। इन्टरनेट सेवाकै कारण भोटखोलामा स्थापना भएको बैंकले सेवा प्रवाह गर्न सकेको थिएन ।

इन्टरनेट सेवा सुचारु भएपछि दैनिक कामकाज र सूचना प्रवाहमा समेत सहज भएको अध्यक्ष भोटेको भनाइ छ ।

इन्टरनेट सेवा नभएकै कारण भोटखोलामा स्थापना भएको ग्लोबल आईएमई बैंकले बैंकिङ कारोबार गर्न नसकेको शाखा प्रमुख गौरव त्रितालले बताए। शून्यप्राय रहेको बैंकिङ कारोवार इन्टरनेट सेवा सुचारु भएपछि सेवा प्रवाह गर्न थालेको उनले बताए।

बैंकिङ कारोबार नहुँदा भोटखोलाबासीले पैदल ४ दिन लगाएर सदरमुकाम खाँदबारी आउनु पर्ने बाध्यता थियो।

भोटखोलामै बैंकिङ कारोबार सुचारु भएपछि सदरमुकाम आउनु पर्न बाध्यता हटेको स्थानिय सुबास भोटेले बताए। भोटखोलाका स्थानियका लागि शिक्षा स्वास्थ्य जस्तै सूचना र सञ्चार पनि अति नै महत्वपूर्ण र अभिन्न अंग रहेकाले इन्टरनेट सेवाले सूचना आदान–प्रदानमा सहजता बनाएको स्थानियको भनाइ छ ।

भोटखोला उच्च हिमाली क्षेत्र भएकाले चट्याङ र हावा हुन्डरीको जोखिम उच्च छ ।

दूरसञ्चार प्राधिकरणको सहयोगमा मर्कन्टायल कम्युनिकेसन प्रालिमार्फत एक्सप्लोर टेक्नोलोजी प्रालि संखुवासभाले निःशुल्क रूपमा आवश्यक सामग्री तथा २ वर्षसम्म इन्टरनेट ब्यान्डविथ उपलब्ध गराउने जनाएको छ । मर्कन्टायल कम्युनिकेसन प्रालिले संखुवासभाका दशवटै स्थानीय तह नगरपालिका, गाउँपालिका र वडाकार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट सेवा सञ्चालनका लागि जम्मेवारी लिएको छ ।

माध्यम

प्रकाशित: १० पुष २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार