शुभयात्रा एपको अनलाईन कक्षामा सहभागी हुनुस्, खल्तीमा ब्यालेन्स पाउनुस्

Technology Khabar ६ बैशाख २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । सुरक्षित वैदेशिक रोजगारीका लागि सूचनामूलक एन्ड्रोइड एप ‘शुभयात्रा’ले एपमा भर्खरै सुनौलो कक्षा नाम दिइएको निःशुल्क रुपमा भर्ना हुन सकिने विशेष अनलाईन कोर्स सुरु गरेको छ ।

यसमा स्वध्ययन गर्न मिल्ने खालका अन्तरक्रियात्मक सामग्रीहरु राखिएका छन् । साथै, वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई लक्षित गरी शुभयात्राले नयाँ रिवार्ड योजना सुरु गरेको छ । दिइएका कोर्समा सहभागी भइ एप प्रयोगकर्ताहरुले पचास रुपैयाँ वा बढी रिवार्ड प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । शुभयात्राले रिवार्डको लागि खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ ।

अहिले शुभयात्राको सुनौलो कक्षामा विदेशी भाषा, वित्तीय साक्षरता, रोजगार सम्झौता पत्र, सिप लगायत अन्य वैदेशिक रोजगारीसँग सम्बन्धित एक दर्जन भन्दा बढी कोर्सहरु उपलब्ध छन् । एपमा उपलब्ध कुनै पनि कोर्स पूरा गरिसकेपछि ५० रुपैयाँ वा बढिको रिवार्ड कुपन प्राप्त हुनेछ । यसरी प्राप्त गरेको कुपन खल्ती मार्फत उपलब्ध सबै प्रकारका सेवाको डिजिटल भुक्तानी जस्तैः मोबाईल रिचार्ज गर्ने, बिजुलीको महशुल तिर्ने, इन्टरनेटको बिल तिर्ने, फिल्म टिकट किन्ने आदि कार्यको लागि प्रयोग गर्न सकिनेछ ।

साथै, हरेक कोर्सको अन्तिममा दिइएको क्विज पुरा गरिसकेपछि प्रमाण पत्र र थप रिवार्ड कुपन प्राप्त गर्न सकिने जानकारी दिएको छ ।

‘नेपालमा कुनै पनि इ–लर्निङ प्लेटफर्मले अनलाईनमा उपलब्ध कोर्सहरुमा सहभागीहरुलाई यसरी रिवार्ड कुपन र अन्य उपहारहरु प्रदान गर्न थालेको यो पहिलो पटक हो । नेपालमै पहिलो पटक यस्तो तरिकाले रिवार्ड योजना सुरु गर्न पाउँदा हामी उत्साहित छौँ,’ द एसिया फाउन्डेसनकी नेपाल प्रतिनिधी मेघान नाल्बोले भनिन् ।

सुनौलो कक्षामा उपलब्ध कुनै पनि कोर्स पूरा गरिसकेपछि आफ्नो मोबाईल नम्बर दाखिला गरेर रिवार्ड कूपन प्रयोग गर्न सकिनेछ । विदेशमा भएका सहभागीहरुले नेपालमा रहेका आफ्ना आफन्तहरुको मोबाईल नम्बर दाखिला गरी उक्त कूपन प्रयोग गर्न सक्ने कम्पनीको भनाई छ ।

धेरै नेपाली जाने देशहरू मलेसिया, कतार, साउदी अरेबिया, युएई र कुवेतबारे सम्पूर्ण जानकारीहरू राखिएको यस एपले विदेश जाने सोचिरहेकाहरुलाई कसरी सुरक्षित तरिकाबाट जाने भनेर सचेत गराउने, विदेश जानको लागि कागजपत्रहरु बनाइरहेकाहरुलाई राम्रोसँग कागजपत्र बनाउन तथा ठगीबाट जोगिने तरिका सिकाउने, तथा विदेशबाट नेपाल फर्किन चाहानेहरूलाई नेपाल फर्किएर व्यापार व्यवसाय गर्न के गर्ने तथा अवसरहरू कता खोज्ने भन्ने बारेमा जानकारी दिने कम्पनीले जनाएको छ ।

प्रकाशित: ६ बैशाख २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया