नेपालबाट सिडिएमए सन् २०२२देखि बन्द, ८०० मेगाहर्ज ब्याण्डमा फोरजी आउँदै

  • Technology Khabar | २१ चैत्र २०७५, बिहीबार
नेपालबाट सिडिएमए सन् २०२२देखि बन्द, ८०० मेगाहर्ज ब्याण्डमा फोरजी आउँदै
सांकेतिक तस्बिर

काठमाडौं ।

अनुज राज ढुङ्गेल । काठमाडौं । नेपालको विशेषगरि दूर्गम क्षेत्रमा प्रयोग हुँदै आएको सिडिएमए नेटवर्क ३ वर्षपछि बन्द हुने भएको छ । नेपाल दूरसंचार प्राधिकरण बोर्ड बैठकले विद्यमान सिडिएमए नेटवर्कलाई सन् २०२२ सम्ममा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

प्राधिकरणले ८०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीलाई व्यवस्थापन तथा पुन तयार गर्नका लागि हाल संचालमा रहेको सिडिएमए नेटवर्कलाई सन् २०२२ सम्म पूर्णरुपमा बन्द गर्ने भएको हो । दूरसंचार प्राधिकरणले सिडिएमए पछिल्लो दिनहरुमा विश्वभरबाट हट्दै गएको हुँदा नेपालमा पनि यसलाई बन्द गर्न लागिएको जानकारी दिएको छ ।

प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले प्रविधि नै विश्वभर हटेको हुँदा नेपालमा पनि यसलाई बन्द गर्न लागिएको जानकारी दिए । ‘यो टेक्नोलोजी नै फेजआउट हुँदैछ, नेपालमा पनि यसको प्रयोग र ग्राहकहरु कम हुँदै गएको हुँदा बन्द गर्न लागिएको हो,’ प्रवक्ता अर्यालले टेक्नोलोजीखबरसँग भने ।

प्राधिकरणकाअनुसार नेपाल टेलिकमले १९०० र ८०० मेगाहर्ज ब्याण्डमा सिडिएमए संचालन गर्दै आएकोमा यसअघि नै १९०० ब्याण्डमा सिडिएमए नेटवर्क फेजआउट गरिसकेको छ । त्यसैगरि यूनाईटेड टेलिकम लिमिटेड(यूटिएल)ले पनि १९०० र ८०० मेगाहर्ज ब्याण्डमा सिडिएमएबाट नै टेलिफोन सेवा दिएको थियो ।

दूरसंचार सेवाको लागि हाल सिडिएम नेटवर्क ८०० मेगाहर्ज ब्याण्डमा संचालन हुँदै आएकोमा सो सिडिएमए नेटवर्क बन्द गर्ने र ८०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी बढाबढबाट निर्धारण गर्ने भएको हो ।

सो ब्याण्डमा हाल २x१० मेगाहर्ज फ्रिक्वेन्सी निर्धाराण गरि बढाबढमा बिक्री गर्ने तथा बाँकी २ह५ मेगाहर्ज ब्याण्डविथ भने भविश्यको प्रयोगको लागि छुट्याईने भएको हो ।

त्यसैगरि हाल नेपाल टेलिकमले ८०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीमा सिडिएमए नेटवर्क संचालन गरिरहेकोमा टेलिकमले ८०० ब्याण्डमा नै फोरजी सेवा र सिडिएमए नेटवर्क संचालन गर्ने भएको हो । त्यसको लागि दूरसंचार प्राधिकरणले ८०० मेगाहर्ज ब्याण्डमा २x१० मेगाहर्ज व्याण्डविथ टेलिकमलाई दिएको छ र त्यसमा टेलिकमले प्रविधि तटस्थताअन्तरगत फोरजी एलटिई संचालन गर्न सक्नेछ ।

नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले विश्वमा नै जीएसएमको प्रयोग बढिरहेको र सिडिएमए हट्दै गएको हुँदा अब टेलिकमले त्यसमा थप लगानी र बिस्तार नगर्ने जानकारी दिईन् । ‘दूर्गम क्षेत्रमा अझै सिडिएमए संचालनमा छ तर त्यसलाई थप बिस्तार नगर्ने र कसरी फेजआउट गर्ने भनेर योजना बनाउँदै छौं, उनले भनिन् ।

उनकाअनुसार अहिले सिडिएमएको सेवा ७७ वटै जिल्लाहरुमा उपलब्ध रहेको र टेलिकमले सेवाग्राहीहरुलाई सेवा दिईरहेको छ । टेलिकमले अब ८०० मेगाहर्ज ब्याण्डमा फोरजी र सिडिएमए दुबै प्रयोग गर्ने स्पष्ट पारिन् ।

‘हामीले ८०० मेगाहर्ज ब्याण्डमा फोरजी एलटिई र सिडिएमएम दुबै एकै पटक संचालन गर्नसक्ने अवस्था छ, तर सो फ्रिक्वेन्सी ब्याण्डमा फोरजी भीओएलटिई भने अहिलेको बिस्तारपछि मात्र आउनेछ,’ टेलिकम प्रवक्ता बैद्यले टेक्नोलोजीखबरसँग भनिन् ।

केहि महिनाअघिको तथ्यांकअनुसार नेपालभर सिडिएमएका करिब १६ लाख प्रयोगकर्ताहरु रहेका छन् ।

टेलिकमले ८०० मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी उपयोग गर्न दिने र फ्रिक्वेन्सी नीतिअनुसार टेलिकमलाई उपलब्ध गराउने भनेर तोकिएको ७०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी भने प्राधिकरणले फिर्ता लिएको छ ।

यदि टेलिकमले ७०० मेगाहर्ज ब्याण्ड मागेको खण्डमा भने फ्रिक्वेन्सी अक्सनबाट मात्र किनेर प्रयोग गर्न सक्नेछ । त्यसको लागि प्राधिकरणले ७०० मेगाहर्ज ब्याण्डको अक्सन गरेको बखतमा
टेलिकमले आवेदन दिएर सहभागी हुनुपर्नेछ ।

प्रकाशित: २१ चैत्र २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...