
काठमाडौं ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सहकारीको विकल्प नभएको बताएका छन् । सहकारीलाई वेवास्ता गरेर देशले आर्थिक छलाङ मार्न नसक्ने उनको भनाई छ ।
राष्ट्रिय सहकारी महासंघ र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजनामा भएको दोस्रो सहकारी महासम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले सहकारीमार्फत नै आर्थिक संमृद्वि हासिल गर्न सकिनेमा सरकार विश्वस्त रहेकाले सरकारले सहकारीलाई उच्च प्राथमिकता दिएको बताए ।
अर्थतन्त्र द्रूतगतिमा अघि बढाउन सहकारीबाहेक अरु बाटो छैन, सहकारीको सही परिचालनबाट नै नभएको देश संमृद्वि बन्छ, उनले भने ।
जग्गा खण्डीकरण र प्लटिङ गर्ने गरेकाले कृषि उत्पादन खस्कदै गएको उनले बताए । खण्डीकरण भएको जग्गा जमिन एकीकृत गरी सहकारीमार्फत उत्पादनमा जोड दिनुपर्ने उनको भनाई थियो ।
कृषि उत्पादनमा आत्मनिर्भर हुन सहकारीले सघाउने उनले बताए । ‘सहकारीले कृषिमा लगानी बढाएर व्यापारघाटा कम गर्न सक्छ’ उनले भने ।
कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक लोकतन्त्र बलियो नभएसम्म राजनीतिक अर्थतन्त्र बलियो हुन नसक्ने बताए । आर्थिक रुपान्तरणका लागि सहकारी सशक्त माध्यम हुने उनको भनाई थियो ।
समाज र सदस्यप्रति उत्तरदायित्व भएर सहकारीले संख्यात्मक विकाससँगै गुणात्मक विकासमा जोड दिनुपर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै आइएलओ नेपालका डाइरेक्टर रिचार्ड हवार्डले दीगो विकासका लागि सहकारीले आर्थिक उत्पादनमा जोड दिनुपर्ने बताए ।
‘हामी उत्पादनमा सहजिकरण गर्न तयार छौं’ उनले भने ।
श्रम व्यवस्थापन सही ढंगले हुन सके आर्थिक रुपान्तरण असम्भव नभएको उनको भनाई थियो ।
सम्मेलनमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपिनाथ मैनालीले नेपालको सहकारी अभियानः२०२२ सम्मको कार्यदिशा, डा खिमलाल देवकोटाले सहकारीको प्रवद्र्धनमा सरकारका विभिन्न तहको भूमिका विषयक कार्यप्रत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी प्रा. डा पुष्पराज कँडेलले दीगो विकास लक्ष्य र यसको कार्यान्वयनका लागि सहकारी क्षेत्रको सहभागिता, पूर्व मूख्य सचिव डा. विमल कोइरालाले वित्तिय सहकारी, चुनौती र सम्भावना, डा रामशरण खरेलले तीन खम्बे अर्थनीतिका सन्दर्भमा सहकारी, निजी र सार्वजनिक क्षेत्रबीच सहकार्य विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रकाशित: २१ चैत्र २०७४, बुधबार