
काठमाडौं ।
काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासंघले आगामी वैशाखमा ‘नेपाल १४औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ आयोजना गर्ने भएको छ ।
आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आउँदो वैशाख १४ गतेदेखि १८ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा प्रदर्शनी गर्न लागेको हो ।
‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकामा गर्व गरौँ’ र ‘उद्योग गरौँ, उद्यमी बनौँ, उठाऔँ नेपाल’ नाराका साथ शुरु हुने प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीको सहभागिता रहने महासंघले जनाएको छ ।
प्रदर्शनीमा भारत, पाकिस्तान, बंगलादेश, चीनलगायतको सहभागिता रहने महासंघले जनाएको छ । सो महोत्सवमा २५० वटा कक्ष रहनेछ । पाँच दिनसम्म चल्ने प्रदर्शनीमा दुई लाखभन्दा बढी अवलोकनकर्ताले मेलाको अवलोकन गर्ने विश्वास लिइएको छ । मेला अवधिभर पाँच करोड रुपैयाँभन्दा बढीको प्रत्यक्ष र १० करोड रुपैयाँ बराबरको अप्रत्यक्ष कारोबार हुने प्रक्षेपण महासंघले अपेक्षा गरेको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले जानकारी दिए ।
लघु, घरेलु तथा साना उद्योगको छाता संस्था महासंघले नियमितरुपमा राष्ट्रिय तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनी आयोजना गर्दै आएको छ ।
गतवर्ष देखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न शुरु गरेको सन्दर्भमा यो प्रदर्शनी यस वर्ष ‘नेपाल १४आंै अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ को नाममा आयोजना हुँदैछ ।
प्रकाशित: १७ पुष २०७४, सोमबार