डेढ करोड एन्ड्रोयड डिभाइसमा कपीक्याट भाइरसको आक्रमण, तपाईँको पनि पर्यो की ?

Technology Khabar २६ असार २०७४, सोमबार

काठमाडौं ।

काठमाडौं, २६ असार । केहि समय अघि वानाक्राई र्यानसमवेयर भाइरसले विश्वका निकै देशहरुलाई तनाबमा पारेको केहि समयभित्रै फेरी नयाँ भाईरसले संसारभर समस्या उत्पन्न गराएको छ ।

हाल कपीक्याट (CopyCat) नामक भाइरसले विश्वका १ करोड ४० लाख भन्दा बढि एन्ड्रोयड स्मार्टफोनमा असर पारेको छ । यसबाट असर भएका १ करोड ४० लाख स्मार्टफोनहरुमध्ये ८० लाख स्मार्टफोनहरुलाई यो भाइरसले स्वचालितरुपमा रुट गरिदिएको छ ।

हालै चेक प्वाइन्ट नामक सिक्योरिटी फर्मले सार्वजनिक गरेको जानकारीअनुसार विज्ञापन मालवेयर कपीक्याटले विश्वभरबाट १.५ मिलियन अमेरिकी डलर भ्रामक विज्ञापन अभियानबाट चोरेर ह्याकरहरुलाई उपलब्ध गराएको छ ।

यो मालवेयरले विशेषगरि दक्षिण पूर्वी एसियाका देशहरुका स्मार्टफोनहरुलाई असर पारेको छ । त्यस्तै अमेरिकामा मात्रै २ लाख ८० हजार भन्दा बढि एन्ड्रोयड स्मार्टफोनहरुमा आक्रमण गरेको छ ।

चेकप्वाइन्ट रिसर्च टिमकाअनुसार कपीक्याट पूर्णरुपमा विकास गरिएको मालवेयर हो जसले भित्रि तहसम्म पुग्दछ, डिभाइसलाई रुट गर्दछ र यसमा कोडहरु राख्न सक्दछ, यो मालवेयरले प्रयोगकर्ताको डिभाइसमा हुने गतिबिधिहरुलाई सिधा नियन्त्रण गर्न सक्दछ ।

यो भाईरसले आक्रमण गरेपछि शुरुमा प्रयोगकर्ताको डिभाइसललाई रुट गर्दछ, जसले ह्याकरहरुलाई डिभाइसमा पूर्ण नियन्त्रण गर्न सहयोग गर्दछ भने अन्त्यमा प्रयोगकर्तालाई सेक्योरिटी रहित बनाउँछ ।

यो भाइरसले तपाईँले कुनै एप प्रयोग गरिरहनुभएको छ भने त्यसमा विभिन्न किसिमका अनावश्यक विज्ञापनहरु देखाउँछ जसको कुनै आधारभूत जानकारी हुँदैन र त्यसबाट आम्दानी गर्दछ ।

अनुसन्धाकर्मीहरुले यो भाइरसको बारेमा गूगललाई पनि जानकारी गराईसकेका छन तर पनि अहिलेसम्म कयौं डिभाइसहरु कपीक्याट भाइरसबाट अतिक्रमित रहेको चेकप्वाइन्टले उल्लेख गरेको छ ।

कपीक्याट भाइरसको पछाडि कसको हात छ भन्ने अहिलेसम्म स्पष्ट नभएपनि यो छिमेकी मुलुक चीनमा रहेको मोबीसमर एड नेटवर्कबाट आएको होकी भन्ने आशंका गरिएको छ । यदपी सो नेटवर्कपनि ह्याकरहरुले ह्याक गरेका हुनकी भन्ने संभावनालाई पनि हेरिएको छ ।

यसअघि पनि सन् २०१६ मा यो भाइरसले एन्ड्रोयड डिभाइसमा आक्रमण गरेको थियो तर त्यसबेला गूगलले त्यसलाई गूगल प्ले प्रोटेक्टद्धारा ब्लक गरेको थियो ।

माध्यम

प्रकाशित: २६ असार २०७४, सोमबार

तपाइको प्रतिक्रिया