
काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ लगायतमा जाने पूँजी रोक्न संयन्त्र विकास गरेको दाबी गरेका छन्। यसका साथै उनले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सृजना भएको संकेत गरे। पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको भन्दै त्यस्तो पैसा खोज्न थालेको बताए।
शुक्रबार नागरिक लगानी कोषको ३२ औं बार्षिकोत्सवलाई सम्बोधन गर्नेक्रममा मन्त्री शर्माले क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फण्डलगायत नयाँ प्रविधिको दुरुपयोग गरी पूँजी पलायन भइरहेकाले रोक्न संयन्त्र विकास गरिसकेको जानकारी दिए।
‘नयाँ विकास भएका विभिन्न प्रविधिहरुको दुरुपयोग गरेर क्यापिटल फ्लाई हुने प्रकृया देखा परेको छ। त्यसलाई नियन्त्रण गर्न विभिन्न संयन्त्र परिचालन भइसकेका छन्’ उनले भने।
यसका साथै तरलताको अभाव सृजना गराउन ओछ्यानमुनी वा सिरानमुनी पैसा राख्ने प्रवृत्ति बढेको भन्दै खोज्न थालेको बताए।
‘पुँजी कतै हराइरहेको छ । आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ ? कतै सिरानीमुनी र ओछ्यानमुनी त बन्द रहेको छैन भन्ने कुराको खोजीमा म लागेको छु’ उनले भने, ‘हाम्रो पुँजी निस्क्रिय भएर कतै बसिरहेको त छैन ? यता तिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्छ ।’
पछिल्लो समय मुलुकले तरलता अभावको समस्या खेप्नेक्रम लम्बिएपछि अर्थ मन्त्रालय पुँजी जुटाउन निरन्तर क्रियाशील भइरहेको उनले बताए।
उनले मुलुकले अहिले भोगिरहेको शोधानान्तर घाटाको स्थिति अन्तर्राष्ट्रिय बजार मूल्यको असर भएको बताए । उनले पछिल्लो समय शोधानान्तर स्थिति सुधार हुन थालेको बताउँदै चाँडै अर्थतन्त्र लयमा आउने विश्वास पनि दिलाए ।
प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार