
काठमाडौं ।
जेफ बेजोसको ब्लू ओरिजिनले आफ्नो आगामी उडान मार्च २९ सम्मका लागि स्थगित गरेको छ। यो उडान यसअघि अर्को हप्ताका लागि तय गरिएको थियो।
यसबाहेक पूर्वनिर्धारित योजना अनुसार सटर्डे नाइट लाइभ कार्यक्रमका हास्य कलाकार पिट डेभिड्सन पनि उक्त उडानमा सहभागी नहुने कम्पनीले बिहीबार जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ।
कम्पनीले यसबारेमा ट्विटरमा सूचना पोस्ट गरे पनि उक्त परिवर्तन र डेभिड्सनको बहिर्गमनबारे केही खुलाएको भने छैन।
मार्च २३ का लागि तय भएको टेलिभिजन स्टार किम कार्दाशियनका २८ वर्षीय प्रेमी डेभिड्सनको नाम उक्त उडानको मानार्थ अतिथिका रुपमा गत सोमबार मात्र सार्वजनिक गरिएको थियो।
डेभिड्सन यो उडानमा सहभागी हुन नसक्ने भएकाले उक्त उडानको नयाँ छैटौं यात्रुको घोषणा छिट्टै हुने ब्लू ओरिजिनले जनाएको छ।
प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार