
काठमाडौं ।
सोसल मिडिया जायन्ट फेसबुकमाथि भ्रामक विज्ञापन गरेको आरोपमा अस्ट्रेलियामा मुद्दा दायर भएको छ।
स्थानीय नियामकका अनुसार फेसबुकले जानीजानी भ्रामक क्रिप्टोकरेन्सीको विज्ञापन गरेर गलत, गुमराहमा राख्ने वा धोखाधडीपूर्ण गतिविधि गरेकोले मुद्दा दायर गरिएको हो।
अमेरिकी कम्पनी फेसबुकमाथिको यो आरोप प्रमाणित भएमा उसले नगद जरिबानासहित अन्य उण्ड पनि भोग्नुपर्ने बीबीसीले उल्लेख गरेको छ।
मेटाले यस सम्बन्धमा कुनै टिप्पणी गरिनसकेको भए पनि यसअघि भ्रामक जानकारी फैलाउनेहरुलाई आफ्नो प्लेटफर्मबाट हटाउने प्रतिबद्धता भने जाहेर गरेको थियो।
अस्ट्रेलियाको प्रतिस्पर्धा तथा उपभोक्ता आयोग (एसीसीसी)ले आरोप लगाइएका ती विज्ञापनहरुमा फेसबुकको अल्गोरिदम प्रयोग गरेर सामान्य उपभोक्तालाई लक्षित गरेर त्यसमा अस्ट्रेलियाका सेलिब्रिटीहरुको झूटो वाक्यहरु प्रयोग भएका बताएको छ।
यसरी विज्ञापनमा झूटो बोली प्रयोग गरिएका सेलिब्रिटीहरुमा न्यूसाउथवेल्सका पूर्व प्रिमियर माइक बेयर्ड, चर्चित टेलिभिजन प्रस्तोता डेभिड कोच तथा अर्बपति व्यवसायी डिक स्मिथलगायतका थिए।
‘हाम्रो मुद्दाको मुख्य सन्देश मेटा आफ्ना प्लेटफर्ममा प्रकाशित विज्ञापनका लागि उत्तरदायी छ भन्ने हो’, एसीसीसीका अध्यक्ष रड सिम्सले विज्ञप्तिमा बताएका छन्।
प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार