
काठमाडौं ।
रुसी सरकारी साइटहरुमा थुप्रै साइबर हमला भइरहेका बुझिएको छ।
यस्ता हमलापछि विदेशी वेब ट्राफिकलाई फिल्टर गर्ने प्राविधिक प्रयास भइरहेको डिजिटल मन्त्रालयलाई उद्धृत गर्दै तास समाचार संस्थाले जनाएको रोयटर्सले उल्लेख गरेको छ।
यूक्रेन हमलापछि रुसी सरकारी संस्थाहरु तथा राज्य अन्तर्गतका कम्पनीहरुमाथि साइबर हमलाको लक्ष्य बनाइएको पाइएको छ।
क्रेम्लिन, राष्ट्रिय ध्वजावाहक एरोलफ्ट तथा प्रमुख लगानी बैंक स्बेरब्याङ्क लगायतका संस्थाहरुको वेबसाइट केही हप्तायता आउटेजमा गएको वा अस्थायी रुपमा पहुँचको समस्या आएको रोयटर्सले जनाएको छ।
मन्त्रालयले साइबर हमलाको सङ्ख्या निकै बढेको नयाँ अवस्थालाई सुल्झाउन प्रयास गरिरहेको बताएको छ।
‘यसअघि हमलाकारीहरुको अधिकतम शक्ति ५०० गिगाबाइट रहेकामा हाल आएर यो आँकडा १ टेराबाइटमा पुगेको छ’, मन्त्रालयले भनेको छ।
मन्त्रालयका अनुसार यो हमला केही समययता भएका ठूला हमलाहरुको तुलनामा २ वा ३ गुणा बढी शक्तिशाली हो।
प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार