
काठमाडौं ।
राजस्व अनुसन्धान विभागले अझै पनि कतिपय कारोबार मालवस्तु ढुवानी साधनको अनुगमन (भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिष्टम (भीसीटीएस)मा नआएको भन्दै त्यसमा अनिवार्य रूपमा प्रविष्ट गर्न निर्देशन दिएको छ।
सरकारले राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले २०७६ साउन १ गतेदेखि भीसीटीएस अनिवार्य गरे पनि अझै कतिपय कारोबार यस प्रणालीमा आबद्ध नगरी वा आंशिक रूपमा मात्र प्रविष्ट गरी वस्तुको ओसारपसार गर्ने गरेको पाइएको छ । विभागले सबै कारोबारलाई अनिवार्य रूपमा प्रणालीमा प्रविष्ट गर्न निर्देशन दिएको हो ।
विभागले अनुगमन गर्दा कतिपय कारोबार वैधानिक तवरबाट पैठारी नभएका वा चोरी पैठारीबाट भित्रिएका मालवस्तुसमेत एकै बिलबिजकबाट ओसारपसार गरेको पाइएको जनाएको छ। त्यसलाई नियन्त्रण गर्न विभागले आयातकर्ता वा व्यवसायीलाई आफूले गर्ने कारोबार कानुनबमोजिम भएमात्र वस्तु खरिद बिक्री गर्ने तथा भण्डारण गर्न निर्देशन दिएको छ ।
त्यस्तै, सीमानाका नजिक रहेका कारोबार स्थलबाट मुलुकका अन्य भागमा पैठारी भई जाने मालवाहक सवारीसाधनमा समेत चोरी पैठारीमार्फत भित्रिएका वस्तु बीच बाटोबाट थप गरी गन्तव्य स्थलतर्फ पठाउने गरेको पाइएको जनाइएको छ । त्यस्ता ढुवानी साधन चालक र संलग्न व्यक्तिलाई विभागबाट कारबाही भएको पनि जनाएको छ।
विभागको अनुगमनमा कतिपय सामान ढुवानी गर्ने ट्रान्सपोर्ट कम्पनीले बुझाउनुपर्ने व्यक्ति वा फर्मलाई नबुझाई अन्य व्यक्तिलाई समेत बुझाएको देखिएको भन्दै सामानको वास्तविक धनी पहिचान गरी बुझ्ने र बुझाउने व्यवस्था गर्नु पनि निर्देशन दिएको छ।
त्यस्तै, नेपाल राष्ट्र बैङ्कबाट समय–समयमा जारी हुने परिपत्रका आधारमा एकपटकमा व्यक्तिले नगद लिई हिँड्ने सीमाभन्दा अधिक रकमसमेत नगदै बरामद हुने गरेको विभागले जनाएको छ। विभागका अनुसार व्यावसायिक कारोबारमा ५० हजार रुपियाँभन्दा माथि चेकबाट मात्र भुक्तानी हुनुपर्नेमा व्यावसायिक कारोबारको रकम हो भनी दाबीसमेत गरेको पाइएको जनाएको छ।
यसका साथै हालैका दिनहरुमा सर्वसाधारण व्यक्तिहरु समेतलाई तत्कालै धेरै नाफा हुने प्रलोभनमा वा अर्काको नामबाट बैकखाता खोली कारोबार गर्ने गराउने प्रवृत्तीमा बढोत्तरी भएको सूचनालाई आधारमानी विभागले केही व्यक्तिहरुउपर अनुसन्धान र सम्वन्धित अदालतमा अभियोजन समेत गरिसकेको जानकारी दिएको छ। विभागले वानएक्सबेट, बाइनान्स, एडीभी क्यास, क्वाइनबेस, प्याक्सफुल (1xbet, Binance, Adv Cash, Coinbase, Paxfull) लगायतका डिजिटल एपहरुबाट हुने कारोबार कानुनले निषेधित गरेको हुनाले यस्ता गरैर कानुनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ। स्मरणरहोस् यी एपहरु क्रिप्टोकरेन्सी कारोबार तथा अनलाइन जुवा खेल्नका लागि प्रयोग गरिन्छन्।
यस्ता क्रियाकलापबाट सवै सचेत रहन, कोही कसैले प्रलोभनमा पारी त्यस्ता क्रियाकलाप गर्न गराउन खोजेमा समयमै सम्वन्धित निकायमा खवर गर्न र खबर गर्नेलाई पुरस्कारको व्यवस्थासमेत भएको बताईएको छ।
प्रकाशित: ३ चैत्र २०७८, बिहीबार