क्यान इन्फोटेक २०२२ को असी प्रतिशत स्टल बुकिङ्ग

  • Technology Khabar | ३० फाल्गुन २०७८, सोमबार
क्यान इन्फोटेक २०२२ को असी प्रतिशत स्टल बुकिङ्ग

काठमाडौं ।

आगामी २०७९ बैशाख ७ देखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने २७ औं क्यान इन्फोटेक २०२२ असी प्रतिशत स्टल बुकिङ्ग पुरा भएको क्यान महासंघले जानकारी दिएको छ।

सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औं संस्करण यसअघि कोभिड १९ तथा सोहि सम्बन्धि नेपाल सरकारका निर्णयहरुलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको थियो।

विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाण्डौंमा मात्र हुने आयोजक क्यान महासंघको भनाई छ।

यो पटकको इन्फोटेकमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इ-वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट, लर्निङ सेन्टर, देशभित्रका स्टार्टअप, मोबाइल, आइटी कलेज र नवीनतम सोचमा आधारित रहेर सूचना प्रविधिको क्षेत्रमा अध्ययनरत विद्यार्थीद्वारा निर्मित प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य आकर्षण हुने बताईएको छ।

स्टल बुकिङ्गका आधारमा प्रदर्शकहरुले विश्व बजारमा हालसालै आएका एवं उपलब्ध नवीनतम प्रविधीका साथसाथै अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा एक्सेसरिज, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरुका पछिला संस्करणहरु प्रदर्शनीमा राख्ने बताएका छन् ।

त्यसैगरी, आर्टिफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी, सूचना प्रविधिमा आधारित कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहने आयोजकले उल्लेख गरेको छ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन सन १९९५ देखि बर्षेनी आयोजना हुँदै आएको क्यान इन्फोटेकको २७ औं संस्करण ६ दिनसम्म संचालन हुने छ।

प्रकाशित: ३० फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार