
काठमाडौं ।
पीक पर्फर्मेन्स इभेन्टमा एप्पलले नयाँ हरियो रंगको आईफोन १३ पनि सार्वजनिक गरेको छ।
नयाँ आईफोन एसई २०२२ सार्वजनिक गर्न आयोजित उक्त इभेन्टमा कम्पनीले आईफोन १३ तथा १३ प्रो को हरियो रंगको भेरियन्ट अनावरण गरेको हो।
यीमध्ये आईफोन १३ को रंग हल्का हरियो तथा १३ प्रो को भने अलि गाढा अल्पाइन ग्रीन रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
नयाँ प्रिमियम अल्पाइन ग्रीन रंगमा ढाल्नका लागि डिभाइसको सतहमा नानोमिटर-स्केल मेटालिक सेरामिकको थुप्रै पत्रहरु प्रयोग गरिएको बताइएको छ।
अब यो रंगको डिभाइसले यसअघि रहेका ग्राफाइट, गोल्ड, सिल्भर तथा सियरा ब्लू रंग संयोजनहरुको लहरमा पाँचौ अप्शनका रुपमा प्रवेश गरेको छ।
यसपछि भ्यानिला आईफोन १३ मा भने ६ ओटा रंगको विकल्प उपलब्ध भएको छ।
यो हरियो रंगको डिभाइस मार्च ११ देखि प्रि अर्डरका लागि खुल्ने तथा मार्च १८ देखि शिपमेन्ट हुने बताइएको छ।
प्रकाशित: २६ फाल्गुन २०७८, बिहीबार