डाँडो चढेर फोन गर्नुपर्ने समस्या अन्त्य

  • Technology Khabar | २५ फाल्गुन २०७८, बुधबार
डाँडो चढेर फोन गर्नुपर्ने समस्या अन्त्य
सांकेतिक तस्बिर

काठमाडौं ।

बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका बासिन्दाले डाँडो चढेर फोन गर्नुपर्ने समस्या हटेको छ। घर भित्रैबाट फोन लाग्न थालेपछि उनीहरू हर्षित भएका छन्।

यसअघि यहाँका बासिन्दाले आफन्तलाई फोन गर्नु परेमा गाउँकै अग्लो डाँडो तथा रुखमा चढेर फोन गर्दै आएका थिए । स्थानीय सरकारले गाउँमै राखेको नेपाल टेलिकमको टावरले राम्रो काम गर्न थालेपछि अहिले घर भित्रैबाट फोनसहित भिडियो कल गर्न पाइरहेका छन् ।

हिमाली गाउँपालिकाको आर्थिक सहयोग र नेपाल टेलिकम शाखा बाजुराको प्राविधिक सहयोगमा हिमाली गाउँपालिकाको कार्यालय नजिक झुगला डाँडामा थ्रीजीसहितको टेलिकमको टावर जडान भएको हो।

हिमाली गाउँपालिका–४ का बासिन्दा नन्दे सुनारले भने, “यो भन्दा पहिला भारत गएका आफन्तलाई सन्चो–बिसन्चो सोधपुछ गर्न खोज्दा अग्लो डाँडोमा जानुपर्थ्यो ।अहिले घर भित्रबाटै फोनमा कुरा गर्न थालेका छौँ ।”

“कार्यालयका अधिकांश सूचना प्रायः अनलाइनमै गर्नुपर्ने हुन्छ । केही काम गरौँ भने यता टावर नै आउँदैनथ्यो, अहिले टावर जडान गरिएपछि कार्यालयका अधिकांश काम अनलाइनबाटै गर्न सहज भएको छ”, हिमाली गाउँपालिकाका इन्जिनियर मदनराज पाण्डेयले बताए।

हिमाली गाउँपालिकाका विछ्या, बाँधुलगायतका केही ठाउँका बासिन्दा अहिलेसम्म टेलिकम सेवाबाट वञ्चित हुँदै आएका थिए। अहिले ती गाउँमा पनि सुविधा पाउन थालेको स्थानीयवासीको भनाइ छ।

हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीका अनुसार पहिले पनि टेलिफोनको राम्रो सुविधा नहुँदा कार्यालयका अधिकांश काम अनलाइनमार्फत गर्न निकै समस्या हुने गरेको थियो भने अब निकै सहज भएको छ। गोरखापत्रबाट

प्रकाशित: २५ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार