
काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारीहरुका लागि सहकारी पहिचान सहितको कुप कार्ड जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ।
आइतबार आयोजित एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईँले सम्झौतापत्रमा हस्ताक्षर गरे।
बढदै गएको सहकारीको भूमिका र कारोबार समेतलाई मध्ये नजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकियाका साथ ग्लोबल आइएमई बैंकको प्रायोजनमा कुप कार्ड जारी गर्न लागिएको हो।
ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत यसका सदस्य सहकारीहरुले कुप कार्ड(Coop Card) जारी गर्नेछन । यसका लागि एसटीसीले चाइना युनियन पे (यूपीआई) सँग सहकार्य गर्दै आएको छ ।
सहकारीका सबै सदस्यलाई सेवा पुर्याउँदै यसलाई अझ बढि प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको कुप कार्ड जारी गर्न लागेको हो । यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुनेछ भने नेपाल तथा भारतका एटीएम/पिओएसमार्फत सहजै चलाउन सकिनेछ।
यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी कुप कार्ड जारी गर्न सक्नेछन्।
यस सुविधाले सदस्यहरुको सहकारीप्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र बित्तीय सेवा २४ घण्टा उपलब्ध हुनेछ।
यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणाली र विद्युतीय कारोवारमा पहुँच बढदै जाने तथा साधारण बैंकिङ कारोवारको लागि बैंकसम्म गइरहनु पर्ने बाध्यताबाट मुक्ति दिने तथा सहकारीहरुको विकासमा थप योगदान पुग्ने आशा लिइएको छ।
प्रकाशित: २३ फाल्गुन २०७८, सोमबार