
काठमाडौं ।
जापानको सोनी कर्प तथा होण्डा मोटर लिमिटेडले साझेदारीमा विद्युतीय सवारी विकास तथा बिक्री गर्ने भएका छन्।
दुवै कम्पनीद्ये शुक्रबार आफूहरुले सहकार्यमा ब्याट्रीमा आधारित विद्युतीय सवारी विकास र बिक्री गर्न सहमत भएको र आवश्यक परे तेस्रो कम्पनीलाई पनि समावेश गराउन सक्ने बताएका छन्।
रोयटर्सका अनुसार दुवै कम्पनीले संयुक्त विज्ञप्ति जारी गर्दै यो वर्ष ज्वाइन्ट भेन्चर स्थापना गरेर आगामी सन् २०२५ भित्रमा विद्युतीय सवारी उत्पादन गरिसक्ने जनाएका हुन्।
सहमति अन्तर्गत होण्डाले पहिलो मोडल निर्माणको जिम्मेवारी बहन गर्नेछ भने सोनीले मोबिलिटी सर्भिस प्लेटफर्म विकास गर्ने बुझिएको छ।
तर दुवै कम्पनीले यो सहकार्यमा भएको वित्तीय हिस्सेदारीबारे केही जानकारी दिएका छैनन्। शुक्रबार एउटा पत्रकार सम्मेलनमा होण्डाका सीईओ तोशिहिरो मिबेले आफूले ज्वाइन्टभेन्चरलाई सर्वसाधारणमा लगिहाल्ने नसोचेको बताए।
प्रकाशित: २१ फाल्गुन २०७८, शनिबार