
काठमाडौं ।
उदयपुरको ताप्ली गाउँपालिकाले आफ्नो क्षेत्रभित्र प्रविधिमैत्री विद्यालय अभियान सुरु गरेको छ। सो अभियान अन्तर्गत सामुदायिक विद्यालयलाई सूचना प्रविधिसँग सम्बन्धित उपकरणहरू ल्यापटप र पिन्टर वितरण गरेको छ ।
गाउँपालिकाले शिक्षाको गुणस्तरलाई वृद्धि गर्न पहिलो चरणमा आधारभूत तहका १८ वटा सामुदायिक विद्यालयलाई एक एक थान ल्यापटप र प्रिन्टर वितरण गरेको ताप्ली गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जु दाहालले बताइन्। उनकाअनुसार बाँकी रहेका अन्य २३ ओटा विद्यालयलाई पनि दोस्रो चरण अन्तर्गत यसै आर्थिक वर्षभित्रमा ल्यापटप र प्रिन्टर वितरण गर्ने योजना छ ।
पाँच वडा रहेको पालिकामा छ ओटा माध्यमिक र ३५ ओटा आधारभूत तहका सामुदायिक विद्यालय सञ्चालनमा छन।
सबै विद्यालयलाई प्रविधि मैत्री बनाउन पालिकाले अभियान सुरु गरेको गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले बताए । विद्यालयलाई ल्याप्टप हस्तान्तरण कार्यक्रममा पालिकाका उपाध्यक्ष कमलमाया राईले विद्यालयको शैक्षिक सुधार तत्कालको आवश्यकता रहेकाले पालिकाले योजना बनाएर कामअघि बढाएको बताए।
पालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रकममध्ये करिब २६ लाख रुपियाँमा २३/२३ थान ल्यापटप र प्रिन्टर किनेको हो ।
पालिकाले निःशुल्क उपलब्ध गराएको ल्यापटप र प्रिन्टर बुझ्दै स्थानीय कालिका आधारभूत विद्यालयका गहतेका प्रधानाध्यापक बालकृष्ण गुरागाईंले कार्यालयको कामकाजलाई मात्र नभई शिक्षण विधीलाई सहज बनाउन प्रविधिले सहयोग पुग्ने बताए। गोरखापत्रबाट
प्रकाशित: १७ फाल्गुन २०७८, मंगलवार