
काठमाडौं ।
-साजन सुवेदी
नेपालमा आर्थिक वर्ष २०७८/७९ को शुरुवाती ७ महिनामा ५ करोड ५ लाख ७० हजार रुपैयाँ बराबरका डिजिटल क्यामरा आयात भएका छन्।
भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को माघ मसान्तसम्मको प्रतिवेदनमा नेपालमा २ हजार २५६ थान डिजिटल क्यामरा भित्रिएका तथ्याङ्क छ।
आयात भएका उक्त परिमाणका डिजिटल क्यामरामध्ये सबैभन्दा बढी चीनबाट १ कोड ५३ लाख ३२ हजार रुपैयाँ बराबरको १ हजार २९० ओटा आएको देखिएको छ।
यसपछि भारतबाट ९ लाख ७४ हजार बराबरको ३५५ थान, जापानबाट १ करोड २६ लाख ६३ हजार रुपैयाँ बराबरको २७१ थान, मलेसियाबाट १४ लाख ६८ हजार रुपैयाँ बराबरको २२ थान, ताइवानबाट ६२ लाख ६६ हजार बराबरको १३७ थान डिजिटल क्यामरा आयात भएका देखिएको छ।
यस्तै थाइल्याण्डबाट ९६ लाख ३१ हजार बराबरको ९८ थान, अमेरिकाबाट ५ लाख ८९ हजार बराबरको ३१ थान, बेलायतबाट ७ लाख ७१ हजार बराबरको ३ थान, कोरियाबाट ४ लाख ३३ हजार बराबरको १४ थान डिजिटल क्यामरा नेपाल भित्रिएका छन्।
यस्तै कतारबाट १५, इजिप्टबाट ७, अस्ट्रेलियाबाट ३ तथा भियतनाम यूएई सिंगापुर कुवेत लाओस इटली इजरायल इन्डोनेशिया जर्मनी तथा हङकङबाट १-१ थान क्यामरा आयात भएका तथ्याङ्कमा उल्लेख छ।
प्रकाशित: १५ फाल्गुन २०७८, आईतवार