
काठमाडौं ।
छिमेकी देश भारतमा दिल्ली राज्य सरकारले राष्ट्रिय राजधानीको नरेला क्षेत्रमा देशको पहिलो इलेक्ट्रोनिक-वेस्ट इकोपार्क निर्माण गर्ने भएको छ।
दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले बिहीबार यसबारे जानकारी दिए। यो इलेक्ट्रोनिक वेस्ट इकोपार्कमा प्लाष्टिक रिसाइकल गर्ने, फोहोरबाट हुने बहुमूल्य वस्तु हटाउने जस्ता काम गरिने भारतिय मिडियाहरुले जनाएका छन्।
नरेला औद्योगिक क्षेत्रमा निर्माण हुन लागेको यो ई–वेस्ट पार्क २० एकड क्षेत्रफलमा फैलिनेछ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले यस परियोजनाका लागि परामर्शदाता नियुक्त गर्ने प्रस्ताव पारित गरेको हो।
मिडिया रिपोर्टकाअनुसार मन्त्रिपरिषद् बैठकपछि डेपुटी मुख्यमन्त्री मनिष सिसोदियाले प्रविधिको बढ्दो प्रयोग र इलेक्ट्रोनिक ग्याजेटमा बढ्दो निर्भरताका कारण विद्युतीय फोहोर जम्मा हुँदै गएको बताए। अहिले यी विद्युतीय फोहोरलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न नसक्नु चिन्ताको विषय भएकोले विद्युतीय फोहोर स्थलमा धेरै पटक अप्रिय घटना घट्ने गरेको उनले बताए।
“यी सबै कुरालाई ध्यानमा राखेर विद्युतीय फोहोरको उचित व्यवस्थापन गर्न हाम्रो सरकारले इ–वेस्ट पार्क बनाउने छ,” डेपुटी मुख्यमन्त्रीले भने। उनले अहिले कुनै पनि प्रदेश सरकारले विद्युतीय फोहोरको वैज्ञानिक बिसर्जनको काम सुरु नगरेको बताए।
रिपोर्टकाअनुसार दिल्लीमा मात्रै फोहोर विद्युतीय उपकरण, इलेक्ट्रोनिक वस्तु, पुराना कम्प्युटर र बेकार मोबाइल फोनबाट हरेक वर्ष दुई लाख टन इलेक्ट्रोनिक फोहोर उत्पादन हुन्छ।
यो दीर्घकालीन रूपमा वातावरणको लागि अत्यन्त खतरनाक छ र मानव जीवनलाई ठूलो जोखिममा पार्न सक्छ। यस्तो अवस्थामा यी विद्युतीय फोहोरलाई वैज्ञानिक ढंगले संकलन गरी बिसर्जन गर्न जरुरी छ।
प्रकाशित: १४ फाल्गुन २०७८, शनिबार