
काठमाडौं ।
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो साता महिनामा नेपालमा ४० लाखभन्दा बढी मोबाइल सेटहरु विभिन्न देशबाट आयात भएका छन्।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विभिन्न मुलुकहरुबाट मोबाइल सेट आयात गर्नका लागि नेपालबाट २८ अर्ब ३८ करोड ५६ लाख २७ हजार रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ।
नेपालले मोबाइल सेट आयात गर्दा बाहिरिएको यो रकम अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सुरुवाती सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ३१ करोड ७४ लाख ५७ हजार रुपैयाँले बढी हो।
आयात रकममा वृद्धि भएपनि मोबाइल सेटको आयात संख्या भने सो अवधिमा घटेको देखिन्छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ लाख ६३ हजार ६८ ओटा मोबाइल सेटहरु आयातमा घटेको छ।
नेपालले विभिन्न देशबाट पहिलो सात महिनामा २४ अर्ब ६ करोड ८१ लाख ७० हजार रुपैयाँको ४३ लाख ६८ हजार ८७२ थान मोबाइल सेट खरिद गरेको थियो।
सार्वजनिक तथ्यांकअनुसार २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा नेपालमा ४० लाख ५ हजार ८०४ थान मोबाइल सेट भित्रिएको हो।
मोबाइल सेटको आयातबाट नेपाल सरकारले ४ अर्ब ४९ करोड ११ लाख ९४ हजार रुपैयाँ राजस्व उठाएको छ।
कोरोना भाइरसको महामारी र अनलाइन कक्षा तथा वर्क फ्रम होममा बढोत्तरी भएसँगै मोबाइल फोन आयातको क्रम बढिरहेको छ।
गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको मोबाइल सेट भित्र्याएको थियो।
सो मुल्यमा नेपालमा ७० लाख ३० हजार ३६६ थान मोबाइल सेट नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ।
प्रकाशित: ११ फाल्गुन २०७८, बुधबार