सिन्धुलीमा सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै

  • Technology Khabar | ११ फाल्गुन २०७८, बुधबार
सिन्धुलीमा सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै

काठमाडौं ।

सिन्धुली जिल्लामा यो बर्ष ४५ वटा सामुदायिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन हुने भएको छ। सामुदायिक विद्यालयलाई प्रविधिमैत्री र पठनपाठन कार्यलाई सहज बनाउन सो कार्यक्रम अन्तर्गत ती विद्यालय सङ्घीय सरकारले छनौट गरेको शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले जनाएको छ।

उक्त एकाइकाअनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छनाेट भएका विद्यालयमा ईन्टरनेटसहितको कम्प्युटर प्रयोगशाला (आईसिटी ल्याब) सञ्चालन गरिने बताइएको छ। प्रयोगशाला सञ्चालन गर्न प्रतिविद्यालय ६ लाख ५० हजार रुपैयाँका दरले बजेट उपलब्ध हुने शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत दुर्गाप्रसाद काफ्लेले जानकारी दिए।

उनका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि आर्थिक वर्ष २०७८–७९ मा देशभरका चार हजार १५७ विद्यालय छनाेट भएकोमा सिन्धुली जिल्लाबाट ४५ ओटा विद्यालय छनोटमा परेका छन्। नौ ओटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा सबैभन्दा बढी कमलामाई नगरपालिकामा १० ओटा र सबैभन्दा थोरै घ्याङलेख गाउँपालिकाबाट दुई ओटा विद्यालय छनोटमा परेको उनले जानकारी दिए।

दुधौली नगरपालिकाबाट आठ ओटा, तीनपाटन गाउँपालिकाबाट छ ओटा, फिक्कल गाउँपालिकाबाट छ ओटा, गोलन्जोर गाउँपालिकाबाट चार ओटा, सुनकोसी गाउँपालिकाबाट तीन ओटा, मरिण गाउँपालिकाबाट तीन ओटा र हरिहरपुरगढी गाउँपालिकाबाट तीन ओटा विद्यालय छनाेट भएको कार्यालयले जनाएको छ।

गतवर्ष पनि जिल्लामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ५१ वटा विद्यालय छनाेट भएका थिए। कमलामाई नगरपालिका–२ भद्रकालीस्थित जनजागृति मावि निबुवाटारले पनि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत गतवर्ष आईसिटी ल्याब स्थापना गरेको जनाएको छ। विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद देवकोटाले विद्यालयको पठनपाठन कार्यलाई सहज र प्रविधिमैत्री बनाउने काम गरिएको जानकारी दिए।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १८ वटा डेक्सटप कम्प्युटर र आठ वटा ल्यापटप खरिद गरी पठनपाठनको व्यवस्था मिलाइएको देवकोटाले बताए। विद्यार्थीलाई प्रयोगात्मक (प्राक्टिकल) कक्षा सञ्चालन गर्ने योजना रहेको प्रधानाध्यापक देवकोटाले जानकारी दिए।

शिक्षा शाखा अधिकृत हितकुमारी पौडेल माध्यमिक तहका सबै विद्यालयमा कम्प्युटर ल्याब र इन्टरनेट पुर्याउने काम भइरहेको बताईन्। विद्यालयमा इन्टरनेट जडानका लागि सङ्घीय सरकारको अनुदानमा १२ हजार रुपियाँ दिने काम भइरहेको उनले बताईन्। उनका अनुसार नगरपालिकाभित्र १८ वटा मावि र दुई निमाविमा कम्प्युटर ल्याब स्थापना भइसकेको छ । सबै २६ वटै माविमा इन्टरनेट जडानको अभियान सञ्चालन गरिएको उनको भनाइ छ। गोरखापत्रअनलाइन

प्रकाशित: ११ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार