जाजरकोटको छेडा बजार क्षेत्रमा सीसी क्यामरा जडान

  • Technology Khabar | १० फाल्गुन २०७८, मंगलवार
जाजरकोटको छेडा बजार क्षेत्रमा सीसी क्यामरा जडान
सांकेतिक तस्बिर

काठमाडौं ।

जाजरकोटको छेडा बजारमा सीसी क्यामरा जडान गरिएको छ। सुर्खेत र जाजरकोट जिल्लाको सिमानामा रहेको शिवालय गाउँपालिका–१, छेडा बजारमा सीसी क्यामरा जडान गरिएको हो।

शिवालय गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले गाउँपालिकाको पाँच लाख रुपियाँको लागतमा बजार क्षेत्रमा क्यामरा जडान गरिएको बताएका छन्। जिल्लाको प्रमुख प्रवेशद्वारको रूपमा रहेको छेडा बजारमा विभिन्न आपराधिक घटना क्यामरा जडानपछि नियन्त्रण हुने अध्यक्ष शाहीले बताए।

जाजरकोटका प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले दुई जिल्लाको प्रवेश नाका रहेकाले कुनै आपराधिक घटना गराएर जिल्ला बाहिरिने वा प्रवेश गर्ने व्यक्ति र सवारी साधनको निगरानीका लागि क्यामरा जडान गरिएको बताए। सीसी क्यामराले जिल्लाको शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउने दाबी उनको छ।

त्यस्तै आर्थिक अभावका कारण सदरमुकाम खलङ्गामा बिग्रिएका सीसी क्यामरा मर्मतका लागि आर्थिक स्रोत जुटाउन स्थानीय तहसँग आग्रह गरिएको प्रहरी प्रमुख थापाले बताए। गोरखापत्र

प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...