
काठमाडौं ।
सर्लाहीको बसबरिया गाउँपालिका–४ धनगढास्थित श्री पञ्चायत आदर्श माध्यमिक विद्यालयको सूचना प्रविधि प्रयोगशालामा अज्ञात समूहले शनिबार आगजनी गरेको छ। ढोकाको ताल्चा फुटाइ गरिएको आगजनीबाट २४ कम्प्युटर जलेर क्षति पुगेको प्रहरीले जनाएको छ।
ती कम्प्युटरमध्ये सातवटा पूर्णरूपमा जलेको छ भने अन्यमा आंशिक क्षति पुगेको छ। आगजनी गर्ने समूहले केही थान मोनिटरलगयत केही उपकरणसमेत चोरेर लगेको प्रहरीले जनाएको छ।
प्रधानाध्यापक रामपुजन यादवकाअनुसार प्रयोगशालामा अज्ञात व्यक्तिले आगजनी गरी क्षति पुर्याएपछि कम्प्युटर प्रयोगशाला बन्द गर्नुपरेको छ। उनका अनुसार कम्प्युटर प्रयोगशालामा कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीले कम्प्युटर कक्षा लिँदै आएका थिए ।
यसअघि विसं २०७० मा पनि विद्यालयको कार्यालयमा आगजनी गरिएको थियो। साथै एकपटक ताल्चा फुटाएर विद्यालयको अफिसमा चोरीसमेत हुँदा विद्यालय प्रशासनले सुरक्षामा कुनै चासो नलिएको स्थानीयवासीको आरोप छ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा दुई वर्षअघि सो विद्यालयमा सूचना प्रविधि प्रयोगशालाको स्थापना गरिएको थियो ।
प्रयोगशाला स्थापनाका लागि २४ कम्प्युटरलगायत आवश्यक उपकरणका साथै विभिन्न सामग्री विद्यालयाई हस्तातरण गरिएको थियो ।
प्रकाशित: ९ फाल्गुन २०७८, सोमबार