
काठमाडौं ।
नेटवर्क सेवा प्रदायक (एनएसपी) क्लासिक टेक प्रालिले अन्य इन्टरनेट सेवा प्रदायकहरु (आईएसपी) लाई व्याण्डविथ उपलव्ध गराएवापत शत प्रतिशत मर्मत सम्भार शुल्क उठाउने गरेको खुलासा भएको छ।
नियमनकारी निकायको अनुगमन तथा कारबाहीमा परेसँगै क्लासिक टेकले दूरसञ्चार ऐन विपरितको कार्य गरेको खुलासा भएको हो।
नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्थलगत अनुगमन तथा निरीक्षणको क्रममा नेटवर्क सेवा प्रदायक क्लासिक टेकले इन्टर्नेट (ई–मेल सहित) सेवा सञ्चालनको लागि अनुमतिपत्र प्राप्त संस्था एशिया नेट एण्ड कम्यूनिकेशन प्रालिलाई दिएको ब्याण्डविथ सेवामा व्याण्डविथ उपलव्ध गराए वापत शत प्रतिशत मर्मत सम्भार शुल्क असुल गरेको भेटिएको थियो।
प्राधिकरणको टोलीले एशिया नेट एण्ड कम्यूनिकेशनको कार्यालयमा अनुमतिपत्रका शर्त बमोजिम कार्य गरे/नगरेको बिषयमा गरिएको स्थलगत अनुगमन तथा निरीक्षण गरेको थियो ।
सो अनुगमनको क्रममा उक्त कम्पनीले अनुमतिपत्रको विभिन्न शर्तहरु पालना नगरेको भेटिएको थियो। जसअनुसार कम्पनीलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (२) बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाउन प्राधिकरण बोर्ड बैठकले निर्णय गरेको छ।
जसअनुसार बोर्डले एसिया नेट एण्ड कम्यूनिकेशनलाई किन कारवाही नगर्ने भनी १५ दिन भित्र स्पष्टीकरण माग गरेको छ।
यसका साथै बोर्डले एसिया नेट एण्ड कम्यूनिकेशनलाई इन्टर्नेट ब्याण्डविथ उपलब्ध गराउने नेटवर्क सेवा प्रदायक क्लासिक टेकले सो कम्पनीलाई व्याण्डविथ उपलव्ध गराए वापत दूरसञ्चार नियमावली, २०५४ को नियम १५(ज) को व्यवस्था विपरित शत प्रतिशत मर्मत सम्भार शुल्क असुल गरेको पाईएको थियो।
जसअनुसार प्राधिकरणको बोर्डले क्लासिक टेक लाई समेत दूरसञ्चार ऐन, २०५३ बमोजिम किन कारवाही नगर्ने भनी १५ दिन भित्र स्पष्टीकरण प्राधिकरणमा पेश गर्न व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेकोछ।
प्रकाशित: ३ फाल्गुन २०७८, मंगलवार