गाईघाट बजारका असी प्रतिशत सीसी क्यामरा प्रयोगविहीन

  • Technology Khabar | ३ फाल्गुन २०७८, मंगलवार
गाईघाट बजारका असी प्रतिशत सीसी क्यामरा प्रयोगविहीन
सांकेतिक तस्बिर

काठमाडौं ।

जिल्लाको सदरमुकाम गाईघाट बजार तथा आसपासका क्षेत्रमा आपराधिक गतिविधिप्रति निगरानीका लागि सीसी क्यामरा जडान त भए तर मर्मतसम्भार हुन नसकेपछि बेकामे भएका छन्। त्रियुगा नगरपालिका, त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाट र जिल्ला प्रहरी कार्यालय उदयपुरको सहकार्यमा त्रियुगा नगरपालिकाको गाईघाट बजार क्षेत्र र आसपासमा हुनसक्ने आपराधिक गतिविधि निगरानीको उद्देश्यले सीसी क्यामराहरू जडान गरिएको हो।

२०७५ मा बजारको मुख्य चोक तथा आसपासमा ११ वटा क्यामरा जडान भएकामा एउटाबाहेक सबै बिग्रेका छन्। २०७६ सालमा बजार क्षेत्रभन्दा अझ परको क्षेत्रहरू समेटेर थप २२ वटा जडान भएका थिए । त्यसमध्ये छवटा मात्र चालू अवस्थामा रहेका छन्। बाँकी सबै बिग्रेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरको जानकारीअनुसार करिब ८० प्रतिशत सीसी क्यामरा बिग्रेका छन्। सीसी क्यामरा विद्युतीय प्रविधि भएकाले बेलाबेला मर्मतसम्भारको आवश्यकता पर्दछ। घाम, पानी, हावाहुरी, असिनाजस्ता प्राकृतिक कुराले पनि बिग्रन सक्दछ साथै कतिपय अवस्थामा विद्युत् सर्ट हुने, मेसिनमा खराबी हुनेजस्ता कुराले पनि बिग्रने गर्दछ । यी कुरालाई मध्यनजर गरेर जडान गर्ने निकायहरूले मर्मतसम्भारको व्यवस्था गर्नुपर्नेमा त्यसो गरेको पाइएन्।

सीसी क्यामराको लगानीकर्ता र जडान गरिदिने संस्थाबीच मर्मतसम्भारको सम्झौता हुनेगर्छ, त्यो अनुरूपको काम पनि भएको छैन । गाईघाट बजारका केही क्यामरा सडक मर्मत तथा निर्माणका क्रममा अझ जडान भएको छैन। अहिले मुख्यमुख्य ठाउँ र विशेष संवेदनशील ठाउँका क्यामरा चालू अवस्थामा नरहेको गुनासो स्थानीयवासीको छ।

बजार क्षेत्र अलवा त्रियुगा बसपार्क, बोक्से चोक, बजारसँग जोडिने विभिन्न सडकका नाकामा सीसी क्यामरा जडान भएका छन् तर जडान भएपछि आवश्यक मर्मतसम्भार नहुँदा बेकामे बनेका छन्। सीसी क्यामराको नियन्त्रण तथा निगरानीको जिम्मा जिल्ला प्रहरीलाई दिइएको छ। अधिकांश क्यामरा चालू अवस्थामा नरहेको र सोको नियन्त्रण तथा आपराधिक गतिविधिको निगरानी गर्न प्रहरीलाई समस्या परेको जनाएको छ।

प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमकाअनुसार आपराधिक गतिविधिको निगरानीमा चौबिसै घण्टा प्रहरीको नजर सबैतिर नपुग्ने हुँदा संवेदनशील ठाउँ र नाकाहरूमा सीसी क्यामराको जरुरी पर्दछ। विगतमा सीसी क्यामराको मद्दतले हत्यादेखि चोरीसम्मका थुप्रै घटनाको सफल अनुसन्धान र अपराधी पत्ता लागेको उदाहरण छन्। तर पछिल्लो समय सीसी क्यामरा बिग्रिएसँगै प्रहरीको आपराधिक गतिविधिमा निगरानी तथा अनुसन्धान प्रभावकारी देखिएको छैन।

केही समयअघि त्रिनपा–९, राजाबासको दुर्घटनाको दोषी र केही दिनअघि गाईघाटको पुरानो सब्जी बजारमा घरमै राखिएको स्कारपियो र मोटरसाइकलमा आगजनी गरेका अपराधी पत्ता लाग्न सकेका छैनन्। जडान भएका सीसी क्यामरा चालू अवस्थामा रहेको भए तत्कालै यी घटनाको प्रभावकारी अनुसन्धान र अपराधी पत्ता लगाउन प्रहरीलाई सजिलो हुने प्रनाउ गौतमले बताए। जिल्ला प्रहरीले सीसी क्यामरा बिग्रेको सम्बन्धी तालुक अड्डालाई जानकारी दिइसकेको जनाएको छ।

त्रियुगा उद्योग वाणिज्य सङ्घले संस्थाका तर्फबाट चासो देखाएको जनाएको छ। उसले त्रियुगा नगरपालिकासँग छलफलसमेत गरेको जनाएको छ।

त्रियुगा उद्योग वाणिज्य सङ्घ, गाईघाटका अध्यक्ष रमेश रसाइलीले सीसी क्यामरा बिग्रेको अवस्थामा अपराधिक गतिविधि बढ्दै गएको र जिउ, धन सरक्षा चुनौतीमा परेको बताए।

त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले प्रहरी कार्यालय र उद्योग वाणिज्य सङ्घसँग छलफल गरी तत्काल मर्मतसम्भारका लागि बजेट व्यवस्थापन गर्ने र दिगो रूपमा यससम्बन्धी योजना बनाउने बताए।

हाल बजार क्षेत्रमा निजी रूपमा सीसी क्यामरा जोड्नेको सङ्ख्या पनि वृद्धि भएको छ तर उनीहरूले आफ्नो निश्चित क्षेत्रमा सीमित पार्ने भएकाले बाह्य आपराधिक गतिविधिको निगरानी हुन सकेको छैन। गोरखापत्र

प्रकाशित: ३ फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...