
काठमाडौं ।
इलन मस्कको स्याटेलाइटमा आधारित ब्रोडब्यान्ड इन्टरनेट सेवा स्टारलिंक पछि, अब भारतीय कम्पनी रिलायन्स जियो पनि यो ठाउँमा प्रवेश गर्न तयार देखिन्छ। समाचार एजेन्सीकाअनुसार भारतीय टेलिकम कम्पनीले यसका लागि लक्जमबर्गस्थित एसईएससँग हात मिलाएको छ। दुवै कम्पनीले संयुक्त विज्ञप्तिमार्फत यो साझेदारीको घोषणा गरेका हुन् ।
पीटीआईका अनुसार, दुई कम्पनीहरूले संयुक्त रूपमा जियो स्पेस टेक्नोलोजी लिमिटेड भनिने संयुक्त उद्यम सञ्चालन गर्नेछन्, जसमा जियो प्लेटफर्म र एसईएसले क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत शेयर हिस्सेदारी राख्नेछन्।
जियो स्पेस टेक्नोलोजी लिमिटेडले मल्टि-अर्बिट स्पेस नेटवर्क प्रयोग गर्नेछ, जुन जियोस्टेशनरी (जियो), र मध्यम अर्थ अर्बिट (एमईओ) स्याटेलाइट समूहहरूको संयोजनबाट बनेको छ। यो संयोजनले भारत र छिमेकी क्षेत्रहरूमा व्यापार, मोबाइल ब्याकहोल र खुद्रा ग्राहकहरूलाई मल्टि-गिगाबिट लिङ्कहरू र क्षमता प्रदान गर्न सक्षम हुनेछ।
विज्ञप्तिमा भनिएको छ “यो संयुक्त उद्यमले भारतमा एसईएसको स्याटेलाइट डाटा र कनेक्सन सेवाहरू प्रदान गर्न काम गर्नेछ। यद्यपि, एसईएसद्वारा सेवा दिन सक्ने निश्चित अन्तर्राष्ट्रिय एरोनटिकल र समुन्द्री ग्राहकहरूलाई बाहेकलाई सेवा दिईनेछ।”
एसईएसको तर्फबाट १०० जीबीपीएस क्षमता र जियोको भारतमा बलियो स्थिति र बिक्रीले बजार बढाउन लाभदायक साबित हुने बताईएको छ।
जियोका निर्देशक आकाश अम्बानीले भने, “स्याटेलाइट संचार सेवाद्वारा प्रदान गरिएको थप कभरेज र क्षमताका साथ जियोले दुर्गम शहरहरु र गाउँहरु, व्यवसायहरु, सरकारी प्रतिष्ठानहरु र उपभोक्ताहरुलाई नयाँ डिजिटल भारतसँग जोड्न सक्षम हुनेछ।”
प्रकाशित: ३ फाल्गुन २०७८, मंगलवार