
काठमाडौं ।
हुम्लाको उत्तरी उच्च भागमा अवस्थित नाम्खा गाउँपालिकाको वडा ६ लिमी दुई हप्तादेखि सञ्चार सम्पर्कमा जोडिन सकेको छैन । वडा नं ६ लिमीमा रहेको वर्ल्डलिङ्क कम्युनिकेशनको सेवाले काम नगरेपछि सेवा प्रवाहमा समस्या भएका हो।
करिब दुई हप्तादेखि उक्त इन्टरनेटले काम नगरेपछि यस क्षेत्रका स्थानीय सेवाग्राही मर्कामा पर्दै आएको वडाध्यक्ष पाल्जोर तामाङले बताए।
वर्ल्डलिङ्क कम्युनिकेशनले काम नगर्दा वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवासमेत बन्द भएको वडाध्यक्ष तामाङले जानकारी दिए। इन्टरनेट सेवामार्फत हुने विभिन्न काम इन्टरनेटमा खराबी आएपछि प्रभावित भएको छ।
नाम्खामा गत बिहीबार र शुक्रबार भारी हिमपात भएका कारण इन्टरनेटले काम गर्न छाडेको हुनसक्ने अध्यक्ष तामाङको भनाइ छ।
बाक्लो हिमपातका कारण इन्टरनेट सञ्चालनमा नआएपछि इमेल, भाइबर, फेसबुक, ह्वाटसएप र वीच्याटबाट हुने कामसमेत प्रभावित भएको अध्यक्ष तामाङले जानकारी दिए।
जिल्लाको सबैभन्दा बाक्लो र बढी हिमपात हुने क्षेत्र उक्त गाउँपालिका भएकाले पनि सदरमुकाम सिमकोटबाट इन्टरनेट मर्मतका लागि प्राविधिक टोली खटिन समस्या भएको अध्यक्ष तामाङले जानकारी दिएका छन्।
प्रकाशित: २९ माघ २०७८, शनिबार