
काठमाडौं ।
-साजन सुवेदी
नेपालमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको समग्र संख्या २ करोड ६९ लाख ३ हजार ९७९ पुगेको छ।
यो सङ्ख्या थ्रीजी, फोरजी र ईभीडीओ सेवा लिनेहरुको समग्र आँकडा हो।
हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मंसिर महिनाको तथ्यांकअनुसार मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोगकर्ताहरुको संख्या
यो आँकडा असोज मसान्तसम्म २ करोड ५५ लाख ८३ हजार ७६१ थियो भने कार्तिक मसान्तसम्म २ करोड ६३ लाख ७६ हजार ७२५ पुगेको थियो।
यसरी हेर्दा असोजदेखि कार्तिकसम्मको १ महिनामा समग्र मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताको सङ्ख्या ७ लाख ९२ हजार ९६४ तथा कार्तिकदेखि मंसिर मसान्तसम्मको एक महिनाको अवधिमा भने ५ लाख २७ हजार २५४ ले बढेको देखिन्छ।
मंसिर मसान्तसम्मको २ करोड ६९ लाख ३ हजार ९७९ मध्ये नेपाल टेलिकमका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता १ करोड ९९ लाख ८ हजार ३९६ रहेका छन्।
यो सङ्ख्यामा थ्रीजीका प्रयोगकर्ता १ करोड ८६ हजार २२२ तथा फोरजीका ८१ लाख ७४ हजार २६९ का साथै ईभीडीओका १ लाख ३६ हजार ५७३ समावेश छन्।
तथ्यांकअनुसार एनसेलका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता ८३ लाख ४६ हजार ११९ रहेका छन्। यीमध्ये थ्रीजीका प्रयोगकर्ता २१ लाख ९७ हजार ५२८ तथा फोरजीका ६१ लाख ४८ हजार ५९१ रहेका छन्।
यस्तै स्मार्ट टेलिकमका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या १ लाख ६० हजार ७९६ रहेको छ। स्मार्ट टेलिकमले फोरजी सेवा मात्र उपलब्ध गराएको छ।
थ्रीजीमा टेलिकम र एनसेल दुवैका प्रयोगकर्ता घटे
मंसिर महिनाभरिमा नेपाल टेलिकमले आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या कार्तिक महिनाको तुलनामा ८२ हजार ७३५ ग्राहक गुमाएको छ। सोही अवधिमा एनसेलले भने आफ्ना थ्रीजीका ८६ हजार २४३ ग्राहक गुमाएको छ।
फोरजी: टेलिकमले ६ लाखभन्दा बढी र स्मार्टले ७ हजार थपे, एनसेल नगण्य
फोरजीका हकमा मंसिर महिनाभरिमा नेपाल टेलिकमले फोरजी सेवा लिने ग्राहकहरु ६ लाख ८८ हजार ८३९ ले थपेको छ। तर सोही अवधिमा एनसेलले भने जम्मा ३४७ जना मात्र थपेको छ।
तर स्मार्ट टेलिकमले भने ७ हजार ५१ नयाँ फोरजी ग्राहक थपेको तथ्याङ्कले देखाएको छ।
फोरजी प्रयोगकर्ताको संख्या
| कार्तिक | मंसिर | वृद्धि | |
| नेपाल टेलिकम | ७४, ८५, ४३० | ८१, ७४, २६९ | ६, ८८, ८३९ |
| एनसेल | ६१, ४८, २४४ | ६१, ४८, ५९१ | ३४७ |
| स्मार्ट टेलिकम | १, ५३, ७४५ | १, ६०, ७९६ | ७, ०५१ |
ईभीडीओका प्रयोगकर्ता भने थुप्रै महिनादेखि १ लाख ३६ हजार ५७३ मै यथावत् रहिरहेका छन्।
प्रकाशित: २९ माघ २०७८, शनिबार