
काठमाडौं ।
इलन मस्कको स्पेसएक्सले विश्वभर स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न काम गरिरहेको छ। यसका लागि कम्पनीले एकपछि अर्को गर्दै स्टारलिंक स्याटेलाइटहरू अन्तरिक्षमा पठाउँदैछ।
कम्पनीले अहिले १२ हजार स्याटेलाइट प्रक्षेपण गर्ने अनुमति पाएको छ र यसमध्ये हजारौं उपग्रह प्रक्षेपण भइसकेका छन् । कम्पनीले दोस्रो पुस्ताका ३० हजार स्याटेलाइटका लागि थप अनुरोध गरेको छ। जसले गर्दा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यसबारे चिन्ता व्यक्त गरेको छ।
रोयटर्सकाअनुसार नासाले फेडरल कम्युनिकेसन्स कमिसनलाई पत्र लेखेको छ, जसमा यसले भिडभाडका केसहरू बढाउने र नासाको विज्ञान र मानव अन्तरिक्ष उडान अभियानहरूलाई असर गर्ने सम्भावना छ।
नासाका अनुसार हाल पृथ्वीको कक्षमा जम्मा २५ हजार वस्तु छन् र ६०० किलोमिटर मुनि लगभग ६ हजार १०० वस्तुहरू छन्। स्पेसएक्सद्वारा दोस्रो पुस्ताको स्याटेलाइटको विस्तारले कक्षमा वस्तुहरूको संख्या दोब्बर र ६०० किलोमिटर मुनिका वस्तुहरूको संख्या पाँच गुणाले बढी हुनेछ।
अमेरिकन एस्ट्रोनोमिकल सोसाइटी प्यानलको हिस्सा समेत रहेका हार्वर्ड-स्मिथसोनियन खगोल भौतिकशास्त्री जोनाथन म्याकडोवेलले भने, “हामी यति ठूलो संख्यामा स्याटेलाइटहरू भएकोमा चिन्तित छौं। यसले खगोलीय अवलोकनमा बाधा पुर्याउँछ। हामीलाई दशौं हजार स्याटेलाइटहरू सञ्चालन गर्नु अघि अलि बढी अनुभवको समय चाहिन्छ।”
स्पेसएक्सले यस विषयमा सोधिएको टिप्पणीलाई तुरुन्तै प्रतिक्रिया दिएन। इलन मस्कले जनवरी १५ मा ट्वीट गरेर स्पेसएक्सको १,४६९ स्टारलिंक स्याटेलाइटहरु सक्रिय रहेको र चाँडै २७२ स्याटेलाइट कक्षमा जाने बताएका थिए।
स्पेसएक्सजस्तै, अमेजनले आफ्नो प्रोजेक्ट कुईपरमार्फत ३,२३६ ओटा स्याटेलाइट निर्माण गर्न १० अर्ब डलर खर्च गर्ने वाचा गरेको छ। उसले पनि स्पेसएक्सको योजनाको बारेमा चिन्ता व्यक्त गरेको थियो। अमेजनले यो ओभरल्यापले कुइपर प्रणालीमा जोखिम बढाउने चेतावनी दियो। अमेजनले यस विषयमा निष्पक्ष शर्तहरू लागू गर्न अनुरोध गरेको छ।
प्रकाशित: २८ माघ २०७८, शुक्रबार