ताप्लेजुङको दुर्गम तथा हिमाली क्षेत्रमा सञ्चार सेवा अवरुद्ध

  • Technology Khabar | २७ माघ २०७८, बिहीबार
ताप्लेजुङको दुर्गम तथा हिमाली क्षेत्रमा सञ्चार सेवा अवरुद्ध

काठमाडौं ।

ताप्लेजुङको दुर्गम तथा हिमाली क्षेत्रमा तीन सातादेखि सञ्चार सेवा अवरुद्ध भएको छ। जिल्लाको मिक्वाखोला गाउँपालिका, मेरिङ्देन र फक्ताङ्लुङ गाउँपालिकाका केही वडामा सञ्चार (टेलिफोन र इन्टरनेट) सेवा अवरुद्ध भएको हो।

उक्त क्षेत्रमा रहेका टेलिफोन तथा इन्टरनेटका टावर सञ्चालनका लागि भरपर्दो ऊर्जा (विजुली) को व्यवस्था नभएका कारण सञ्चार सेवा अवरुद्ध हुँदै आएको गोरखापत्रअनलाइनले जनाएको छ। सेवा अवरुद्ध हुँदा केही वडासँग पूरै सञ्चार विच्छेद हुन पुगेको छ भने केहीमा सामान्य सञ्चार सेवा रहे पनि प्रभावकारी नहुँदा सेवाग्राहीलाई हैरानी हुँदै आएको छ।

रिपोर्टकाअनुसार मिक्वाखोला गाउँपालिका–३ लिबाङ, सोही पालिकाको वडा नं. ४ साँबा र वडा नं. ५ पापुङमा सञ्चार अवरुद्ध भएको छ ।

यस्तै, मेरिङ्देन गाउँपालिकाको वडा नं. ५ थुकिमा र वडा नं. ६ नाल्बुमा सञ्चार सेवा अवरुद्ध बनेको छ। फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा पनि सञ्चार सेवा अवरुद्ध बनेको छ । पछिल्लो डेढ सातायता सञ्चार सेवा अवरुद्ध हुँदा हाल ओलाङ्चुङगोलासँग सम्पर्क विच्छेद हुन पुगेको छ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको जिल्लाकै दुर्गम हिमाली गाउँ ओलाङ्चुङगोलामा रहेको स्याटेलाइट टावर नचल्दा सेवा अवरुद्ध बनेको बताइएको छ। हिउँद याम सुरु भएपछि हिमाली क्षेत्रमा निरन्तरको हिमपातसँगै मौसम प्रतिकुल बनेका कारण टावर सञ्चालन गर्न जडान गरिएको सोलार (सौर्य ऊर्जा) ले काम नगरेकाले सञ्चारमा समस्या हो।

ओलाङ्चुङगोलाका स्थानीयसमेत रहेका फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता छेतेन शेर्पाले मौसम नखुल्ने अर्थात घाम नलाग्ने भएपछि सोलार चार्ज नहुँदा समस्या आएको बताए।

मौसम खुलेर घाम लागेमा टावर चल्नुका साथै सञ्चार स्थापित भइहाल्ने र मौसम प्रतिकुल हुँदा सञ्चार अवरुद्ध हुने अवस्था रहेको शेर्पाले बताए।

सञ्चार अवरुद्ध हुनुमा मौसमका कारण सोलार चार्ज नहुनेभन्दा अन्य समस्या भने नभएको उनको भनाइ छ। स्थानीयकाअनुसार ओलाङ्चुङगोला लगायत हिमाली क्षेत्रमा केही सातायता दिनहुँजसो हिमपात हुने गरेको छ।

यस्तै, मिक्वाखोला र मेरिङ्देन गाउँपालिका क्षेत्रमा तीन साता बढी समयदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध रहेको बताइएको छ। टेलिफोन र इन्टरनेट अवरुद्ध हुँदा गाउँपालिका र वडा कार्यालयका सेवा प्रवाहमै समस्या आएको मिक्वाखोला गाउँपालिकाका प्राविधिक गजेन्द्र थलङले बताए। गाउँमा टेलिफोन र इन्टरनेट सेवा नचलेपछि गाउँपालिकाको काम सदरमुकाम फुङ्लिङमा आएर गरिरहेको थलङले बताए।

थलङका अनुसार मिक्वाखोलाको तीनवटा वडा र मेरिङ्देनको दुईवटा वडामा हाल इन्टरनेट सेवा ठप्प भएको छ। उक्त वडाहरुमा टेलिफोन सेवासमेत अवरुद्ध बनेको छ। बेलाबखत मोबाइलमा सम्पर्क भइहाले पनि आवाज नबुझिने अवस्था रहेको उनले बताए। आफ्नो क्षेत्रमा भएको सञ्चार सेवा अवरुद्धबारे नेपाल टेलिकम कार्यालय ताप्लेजुङलाई गएको सोमबार ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको उनले जानकारी दिए।

यता, नेपाल टेलिकम कार्यालय ताप्लेजुङले भने निरन्तरको हिमपात र वर्षाले मौसम प्रतिकुल भएका कारण सञ्चारमा समस्या आउने गरेको जनाएको छ। टेलिकम कार्यालयका प्रमुख शिवकुमार सिंहले मिक्वाखोला गाउँपालिकाको साँबामा रहेको बीटीएस टावर सञ्चालन गर्ने सोलारले काम नगरपछि सञ्चार अवरुद्ध भएको बताए। सिंहकाअनुसार पाँचथरको सिलौटीमा रहेको रिपिटर टावरको रेडियो प्रविधिमा केही समस्या आएकाले पनि जिल्लामा सञ्चार सेवामा केही समस्या रहँदै आएको थियो।

सिटौटीको टावरमा रहेको समस्याको समाधन गरिसकेकाले अब सेवामा समस्या नआउने सिंहको भनाइ छ। उनले मौसम प्रतिकुल भएमा भने सौर्य ऊर्जामार्फत सञ्चालित टावर रहेका क्षेत्रमा सञ्चार सेवामा समस्या आउने बताए। अहिले बिद्युतको पहुँच पुगेका जिल्लाको आठराई त्रिबेणी, मैवाखोला, मेरिङ्देन, मिक्वाखोला लगायतका गाउँपालिकामा रहेका टावरहरु सञ्चालनका लागि मिटर जडानको कार्य भइरहेकोसमेत उनले जानकारी दिए।

ताप्लेजुङको अन्तिम बस्ती फक्तालुङ गाउँपालिका ओलाङ्चुङगोलामा २०७७ चैतमा नेपाल टेलिकमले मोबाइल सेवा पूर्ण संचालन गरेसँगै ताप्लेजुङको ९५ प्रतिशत भूभागमा मोबाइल सेवा संचालनमा रहेको छ।ओलाङ्चुङगोला समुद्र सतहदेखि तिन हजार २०० मिटर उचाइमा अवस्थित छ।

प्रकाशित: २७ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...