
काठमाडौं ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान प्रयोग गर्ने विषय अध्ययन गर्न कार्यदल गठन गरेको छ। बुधबार निर्वाचन आयोगले नेपाल सरकारका उच्चपदस्थ प्राविधिकसँग छलफल गरेर कार्यदल बनाएको हो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार विद्युतीय मतदानको विषयमा अध्ययन गर्न सूचना प्रविधि मन्त्रालयको सहसचिवको संयोजकत्वमा कार्यदल गठन भएको हो।
‘आजको छलफल निर्वाचनमा विद्युतीय मतदानको सम्भाव्यता बारेको विषय प्रवेश मात्र हो। छलफलपछि विज्ञहरुको एउटा कार्यदल गठन भएको छ र यसले सात दिनभित्र विद्युतीय भोटिङ मेशिन प्रयोगको सम्भावना बारे प्रतिवेदन बुझाउनेछ’, आयोगका प्रवक्ता पौडेलले टेक्नोलोजीखबरलाई बताए।
कार्यदलले विद्युतीय मतदानका प्राविधिक पक्षबारे अध्ययन गरेर आयोगलाई प्रतिवेदन बुझाउनुपर्ने छ। स्थानीय तहको मिति घोषणा भएपछि आयोगले विद्युतीय मतदानको विषयमा छलफल थालेको हो।
कार्यदलले प्रतिवेदन तयार गरेपछि आयोगले थप अध्ययन गरेर अगाडि बढ्ने प्रवक्ता पौडेलको भनाइ छ।
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुने भएपछि आयोगले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा विद्युतीय मेसिनबाट मतदान गराउने तयारी गरेको हो।
विद्युतीय भोटिङ्ग मेसिन निर्माता कम्पनी रामलक्ष्मण इनोभेसन्सका संस्थापक लक्ष्मण रिमालले कार्यदलको प्रतिवेदन आएपछि यसको प्रक्रिया अघि बढ्ने र छलफलमा विज्ञहरुको सकारात्मक प्रतिक्रिया आएकोले आफ्नो मेशिन प्रयोग हुनेमा आशावादी रहेको बताए।
नेपालमा पहिलो पटक २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा विद्युतीय मतदान भएको थियो। त्यसपछि २०६५ र २०७१ सालको निर्वाचनमा पनि विद्युतीय मेसिन प्रयोग भएको थियो।
२०६५ सालको उपनिर्वाचनमा ६ निर्वाचन क्षेत्र र २०७१ को संविधानसभा सदस्यको उपनिर्वाचनमा पाँच निर्वाचन क्षेत्रमा विद्युतीय मेसिन प्रयोग गरिएको थियो।
प्रकाशित: २६ माघ २०७८, बुधबार