
काठमाडौं ।
नेपाल सरकारको ग्रामीण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत २०७८ पुष मसान्तसम्म ९९.५१ प्रतिशत काम सम्पन्न भएको छ।
यो प्रगतिको आँकडा मंसिर मसान्तसम्म ९६.३१, कार्तिक मसान्तसम्म ९६.०४, तथा असोज मसान्तसम्म ९५.१७ प्रतिशत रहेको थियो ।
हालै नेपाल दूरसञ्चार प्राधिकरणद्वारा जारी पुस महिनासम्मको प्रगति विवरण अनुसार ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ ओटा प्याकेजमध्ये असोज मसान्तसम्म १६ ओटा प्याकेजहरु मार्फत् ६५ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा १०० प्रतिशत काम सकिएको छ।
साथै दुई ओटा प्याकेजमार्फत् ९ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा नेटवर्क तथा कनेक्टिभिटी जडानको ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।
हालसम्म जडान कार्य सम्पन्न भइ सञ्चालनमा रहेका साइटहरुको विवरण यस प्राधिकरणको वेबसाइटमा रहेको लिंकमा हेर्न सकिन्छ।
सम्पन्न भएका परियोजनाहरु मध्ये हालसम्म ७ वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ। त्यस्तै एउटा परियोजनाको प्राधिकरणबाट नियुक्त परामर्शदाताहरुबाट पहिलो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भएको छ।
३ ओटा परियोजनाहरुको दोस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भएर प्रतिवेदन प्राप्त भइसकेको छ। त्यस्तै तीन ओटा परियोजनाको तेस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको कामका लागि परामर्शदातृलाई कार्यादेश दिइएको प्राधिकरणको प्रगति विवरणमा उल्लेख छ।
२०७८ पुष मसान्तसम्म ब्रोडब्याण्ड परियोजनाहरुको संक्षिप्त भाैतिक प्रगति विवरण निम्म प्रकारको छ:
| विवरण | स्थानीय निकायको कार्यालय | वडा कार्यालय | माध्यमिक विद्यालय | स्वास्थ्य संस्थाको संख्या | जम्मा |
| सम्झाैता भएका १८ प्याकेजका साइट संख्या | ७०२ | ५,९३३ | ५,२२५ | ४,१६९ | १५,९८२ |
| इन्टरनेट जडान सम्पन्न भएको | ६९५ | ५,८२२ | ५,२१७ | ४,१६९ | १५,९०३ |
| जडान गर्न बाँकी संख्या | ७ | १११ | ८ | ० | ७९ |
| इन्टरनेट जडान सम्पन्न प्रतिशत | ९९.०० | ९८.१३ | ९८.८५ | १००.०० | ९९.५१ |
प्रकाशित: २५ माघ २०७८, मंगलवार