‘सुरक्षित इन्टरनेट दिवस’का अवसरमा चेतनामूलक कार्यक्रम आयोजित

  • Technology Khabar | २३ माघ २०७८, आईतवार
‘सुरक्षित इन्टरनेट दिवस’का अवसरमा चेतनामूलक कार्यक्रम आयोजित

काठमाडौं ।

‘राम्रो इन्टरनेटका लागि हातेमालो’ नाराका साथ २०७८ माघ २३ गते ‘सुरक्षित इन्टरनेट दिवस – २०२२’ नेपालमा पनि मनाईँदैछ। साइबर सुरक्षासम्बन्धमा चेतना अभिवृद्धि गर्न बालबालिका तथा युवावर्गको लागि काम गर्ने संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने उद्देश्यकासाथ प्रत्येक वर्ष सुरक्षित इन्टरनेट दिवस विश्वका एक सय सत्तरीभन्दा बढी देशमा आयोजना गरिन्छ।

बालबालिका तथा युवा वर्गका लागि सुरक्षित इन्टरनेटको लागि कार्यरत संस्था चाइल्डसेफनेटद्वारा सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवसको समन्वय र प्रवर्धन गर्दै आएको छ। यस दिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी दिन तथा अनलाइन सुरक्षाका लागि सरकारी निकायहरु, विद्यालयहरु, अभिभावकहरु, सामाजिक संस्थाहरुका साथै बालबालिका तथा युवाहरुले निर्वाह गर्नु पर्ने भूमिकाबारे जानकारी प्रदान गर्ने अवसर उपलब्ध गराउँदछ।

सुरक्षित इन्टरनेट दिवसको औचित्यबारे चाइल्डसेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीले भने, “यस डिजिटल युगमा इन्टरनेटले हामीलाई ज्ञान, सूचना, सञ्चार र मनोरञ्जनको अभूतपूर्व अवसर प्रदान गरेको छ । तर सूचना प्रविधिको सही र सुरक्षित प्रयोग नहुँदा बालबालिका तथा युवाहरु अनलाइन यौन दुव्र्यवहार र शोषण, साइबर बुलिङ्ग, साइबर ग्रूमिङ्ग, छलकपट (फिसिङ्ग) तथा सेक्स्टोर्सन (यौनजन्य फिरौटी) मा पर्ने जोखिम हुन्छ।”

रघुवंशीका अनुसार बालबालिका तथा युवालाई इन्टरनेटको नकारात्मक प्रभावबाट बचाउन सरकारी तथा निजी क्षेत्रले बेलैमा सजगता तथा सक्रियता अपनाउनु नितान्त आवश्यक छ।

कोभिड–१९ विश्व महामारी पछि संसारभरि नै अनलाइन बालयौन दुर्व्यवहार तथा बालयौन शोषणका घटना बढेका छन् । अमेरिकाको नेशनल सेन्टर फर एक्सप्ल्वाइटेड एण्ड मिसिङ्ग चिल्ड्रेन सेन्टरले सन् २०१९ मा ६३,२६६ वटा नेपाली बालबालिकाका यौन दुर्व्यवहारका चित्रहरुको साइबरटिप्लाइन रिपोर्ट प्राप्त गरेका थिए । कोभिड–१९ पछि, सन् २०२० मा त्यो संख्या झण्डै तीन गुणा बढेर १७८,३७१ पुगेको थियो ।

कोभिड–१९ पछि चाइल्डसेफनेटले गरेको एक अध्ययन अनुसार पाँचजनामा एकजना किशोरी वा युवती र दशजनामा एक जना किशोर वा युवकले अनलाइन यौन दुर्व्यवहार वा यौन शोषण भोगेको थिए।

बाल तथा युवा क्लबहरु, सामाजिक संस्थाहरु तथा विद्यालयहरुले गत पुस महिनादेखि देशका विभिन्न जिल्लामा सुरक्षित सूचना प्रविधिसम्बन्धी चेतनामूलक कार्यक्रम गरिरहेका छन्।

प्रकाशित: २३ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...