
काठमाडौं ।
ललितपुर महानगरपालिकाले स्मार्ट सडक बत्ती जडान भएका चार ओटा रुटमा सिसिटिभी क्यामरा जडान गर्ने भएको छ।
महानगरले बाग्मती पुलबाट जावलाखेल–लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल, पाटन ढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार–लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६६९ ओटा स्मार्ट सडक बत्ती जडान गरिसकेको मेयर चिरीबाबु महर्जनले जानकारी दिएका छन् ।
उनकाअनुसार दोस्रो चरणअन्तर्गत चक्रपथ बाहिरका खोकना, बङमती, हरिसिद्धी, सुनाकोठी, धापाखेलमा स्मार्ट सडक बत्ती जडानको काम सुरु हुँदै छ।
ललितपुर महानगरभित्र पर्ने चक्रपथमा पनि स्मार्ट सडक बत्ती जडानको तयारी भइरहेको छ। महानगरले स्मार्ट सडक बत्ती र सिसिटिभी क्यामरा जडान कार्यलाईसँगसँगै अघि बढाउने छ।
यसैगरी केहि दिनअघि मात्रै महानगरपालिकाले प्रहरी परीसर ललितपुरसँग मिलेर सिसिटिभी जडान गर्ने सम्झौता गरिसकेको छ। यसको लागि महानगरपालिकाका मेर महर्जनले २ करोड रुपैयाँको चेक प्रहरी परीसरलाई उपलब्ध गराएका थिए।
प्रकाशित: १९ माघ २०७८, बुधबार