
काठमाडौं ।
मोबाइल पसल फुटाई मोबाइल चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। उनीहरुले बाराको प्रसौनी गाउँपालिका-२ स्थित शुभ श्री मोबाइल पसल फुटाई चोरी गरेको बताईएको छ।
पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका-१ प्रसौनी टोल बस्ने २४ वर्षीय विशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र सोही गाउँपालिका-४ खटुवा टोल बस्ने २३ वर्षीय रम्तुलाह अन्सारी रहेका छन् ।
सो पसल फुटाई मोबाइलहरू चोरी भएको भन्ने खबर प्राप्त हुनसाथ खटिएको प्रहरीले अनुसन्धानको क्रममा विशाल मुखियाको घर तलासी गर्दा उनी सुत्ने खाट मुनि ३ वटा झोलामा लुकाई राखेको विभिन्न कम्पनीको ९४ थान मोबाइल सेट, ब्याट्री, चार्जर, राउटर फेला पारेको छ। यसका साथै सोही घरको पहिलो तलामा रहेको चामलको बोराभित्र लुकाई राखेको ६ किलोग्राम अवैध लागू औषध गाँजा समेत फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरू उपर डाँका चोरी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रकाशित: १७ माघ २०७८, सोमबार